असार ३, बुटवल । समानान्तर सत्ताको अभ्यास गर्दै आएको विद्रोही नेपाल कम्युनिस्ट पार्टी सम्बद्ध जिल्ला जनपरिषद रुपन्देहीले देवदह नगरपालिका वडा नं. ३ मा ३५ घर परिवारले उपभोग गर्दै आएको जमिनमाथि देवदह नगरपालिका लगायतको समूहले राजनीतिक पक्षधरताको आधारमा आक्रमण गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।

जिल्ला जनपरिषद रुपन्देहीका प्रमुख जीवनले बुधबार एक प्रेस वक्तव्य जारी गर्दै उक्त जनविरोधी कार्य तत्काल रोक्न सम्बन्धित पक्षलाई आग्रह गर्दै नरोके त्यसको परिणाम गम्भीर हुने बताएको छ । वक्तव्यमा भनिएको छ, “२०७७ असार १ गते देवदह नगरपालिकाको नाममा जनताको जमिन कब्जा गर्ने उद्देश्यले वडा नं. ३ का ३५ घरपरिवारले जीविकोपार्जनका लागि खेतीपाती र मलबीउको जोहो गरिरहेको अवस्थामा ट्याक्टर प्रयोग गरेर भत्काइएको घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।”

विज्ञप्तीमा २०२२ सालमा लागू गरेको भुमिसुधार कार्यक्रम अन्तर्गत जग्गाको हदवन्दी लागु हुँदा हदभन्दा वढी भएको र त्यसअघि गङ्गालक्ष्मी मल्लको (कि.नं.१५७ नक्सा नं.–४ क को ९ विगाहा १० कट्ठा जग्गा) नाममा भएको उक्त खाली जग्गा जनयुद्वको क्रममा जनसत्ता रुपन्देहीले भुमिहीन सुकुम्वासीलाई दिलाएको बताइएको छ ।