एजेन्सी, ६ असार । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले काेराेना भाइरस झन् खतरनाक बन्दै गएकाे भन्दै चेतावनी दिएकाे छ । डब्लूएचओका डाइरेक्टर जनरल टेड्रोस अधानोम घेब्रेयससले कोरोना भाइरस संसारमा महामारी घट्नुकाे सट्टा झन् बढ्दै गइरहेको बताएका छन् । उनले संसार ‘नयाँ र खतरनाक चरणमा’ प्रवेश गरेको भन्दै चेतावनी जारी गरेका हुन् ।

कोरोनाभाइरस संक्रमणका केसहरू विश्वव्यापी रूपमै झन् फेलिँदै गइरहेको भन्दै उनले चिन्ता समेत जाहेर गरेका छन् । गत बिहीबारमात्रै १ लाख ५० हजार नयाँ संक्रमणको केस फेला परेकाे उनकाे भनाइ छ । तर वर्ल्डाेमिटर्सकाे तथ्यांक अनुसार शुक्रबार झनै संख्यामा नयाँ संक्रमित फेला परेका छन् । शुक्रबार एक दिन मात्रै १ लाख ८१ हजारभन्दा बढी नयाँ संक्रमित फेला परेका छन्, जुन हालसम्मकै बढी दैनिक संक्रमण पुष्टिकाे रेकर्ड हाे ।

वर्ल्डाेमिटर्सका अनुसार अहिले विश्वभर कुल संक्रमित संख्या ८७ लाख ५६ हजार नाघेकाे छ । संक्रमितमध्ये ४ लाख ६२ हजारभन्दा बढीकाे मृत्यु भइसकेको छ भने ४६ लाख २४ हजारभन्दा बढी मानिस संक्रमणमुक्त भइसकेका छन् । हाल सक्रिय संक्रमितहरु ३६ लाख ६९ हजारभन्दा बढी रहेकाेमा ५४ हजारभन्दा बढीकाे अवस्था गम्भीर रहेकाे छ ।

डब्लूएचओले सामाजिक दूरीकाे पालना कायम राख्न र संक्रमण थप भयावह हुन नदिन लकडाउन र प्रतिबन्धात्मक उपायहरू तत्काल खुकुलाे नपार्न समेत चेतावनी दिँदै अाएकाे छ ।