अनखबर /बुटवल
असार ७
रुपन्देही, कपिलवस्तु, नवलपरासी, नवलपुर लगायतका जिल्लाले प्रधानमन्त्री ओलिलाई बेसार, प्याज, लसुन, अदुवा, तातोपानी लगायत चिजहरु उपहार पठाएका छन ।
नेपाल कम्युनिस्ट पार्टी निकट किसान सङ्गठन अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी)ले सबै जिल्लाका स्थानीय प्रतिनिधिमार्फत ओलिलाई यस्तो पठाएका हुन । कपिलवस्तुले प्रधानमन्त्री केपी वलीलाई बेसार, अदुवा र तातोपानी पठाएको छ । वाणगङ्गा नगरपालिका वडा नं. ३ का अध्यक्ष सन्तराम रोतारलाई महासङ्घ (क्रान्तिकारी) लुम्बिनी ब्युरोको संयोजक सेवक सिंहको नेतृत्वमा गएको टोलीले बेसारलगायत सामग्री बुझाएको हो । उक्त सामग्री जिल्ला अध्यक्ष गल्फासले बुझाएको समाचारमा जनाइएको छ ।


त्यसैगरी कपिलवस्तुको विजयनगर गाउँपालिका वडा नं. १ र २ का अध्यक्षमार्फत प्रधानमन्त्री वलीलाई बेसारलगायत सामग्री पठाइएको बताइएको छ । आइतबार उक्त गाउँपालिकाअन्तर्गत रहेको वडा नं. १ का अध्यक्ष इन्द्र थारू र वडा नं. २ का अध्यक्ष नेपाल थारूमार्फत महासङ्घले एमसीसीको विरोधस्वरूप प्रतीकात्मक रूपमा प्रधानमन्त्री वलीलाई बेसार, अदुवा र तातोपानी पठाएको हो ।
किसान महासङ्घ ब्युरो संयोजक सेवकसिंह, कपिलवस्तुका अध्यक्ष गल्फास, तिलक कवरले केपी वली नेतृत्वको सरकारले संसद्बाट राष्ट्रघाती एमसीसी सम्झौता पास गर्न खोजेको भन्दै त्यसको विरोधस्वरूप साङ्केतिक रूपमा बेसार, अदुवा र तातोपानी प्रधानमन्त्रीलाई पठाइएको बताएका छन् । उनीहरूले एमसीसी परियोजना कुनै हालतमा पनि संसद्बाट पास गर्न नदिन सङ्घर्ष गर्नुपरेको बताए । उक्त बेसार, अदुवा र तातोपानी लिएर किसानहरूसहित किसान महासङ्घ (क्रान्तिकारी) सम्बद्ध नेता–कार्यकर्ताहरू कार्यालयमा पुगेका थिए ।
यस्तै नेकपा नवलपुरले प्रधानमन्त्री केपी वलीलाई बेसार, तातोपानी, अदुवा, लसुन लगायत सामग्री पठाएको बताएको छ ।
एमसीसी परियोजना राष्ट्रघाती भएको भन्दै त्यसको विरोध स्वरुप गैडाकोट नगरपालिकाका मेयर छत्रराज पौडेलमार्फत् प्रधानमन्त्री वलीलाई उक्त सामग्री पठाएको नेकपा नवलपुरको बताएको छ ।


एमसीसी विरुद्ध सांकेतिक रुपमा उक्त सामग्री प्रधानमन्त्री वलीलाई पठाएको नेकपा नवलपुरले बताएको छ । उक्त सामग्री बुझाउनका लागी जिल्ला जनपरिषद प्रमुख विशालको नेतृत्वमा ठूलो टिम गैडाकोट नगरपालिकाको मेयर पौडेलको कार्यकक्षमा पुगेको थियो । परिषद्का प्रमुख विशालले प्रधानमन्त्री वलीलाई एमसीसीको विरुद्ध सांकेतिक रुपमा बेसार लगायत उपहार पठाइएको बताए ।
नेकपाले एमसीसी विरुद्ध देशव्यापी संघर्ष गर्दै आएको छ । यसअघि नवलपुरमा नेकपाले एमसीसी विरुद्ध पर्चा वितरण, पोस्टरिङ, पुत्लादहन, कोणसभा, मसाल जुलुस गरेको थियो ।
अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) मार्फत नेकपा नवलपरासीले पनि प्रधानमन्त्री वलीलाई बेसार उपहार पठाएको नेकपा स्रोतले जनाएको छ ।
उक्त बेसार बुझाउनका लागि किसान महासङ्घको टोली रामग्राम नगरपालिका वडा नं. १४ का अध्यक्ष पारसनाथ चौधरीको कार्यकक्षमा पुगेको थियो ।


नेकपा नवलपरासीले एमसीसीविरुद्धको सङ्घर्षस्वरूप साङ्केतिक रूपमा प्रधानमन्त्री वलीलाई उक्त सामग्री पठाइएको जनाएको छ । वली सरकारले कोरोना सङ्क्रमित जनतालाई औषधीउपचार गर्नुको सट्टा औषधी खरिदप्रक्रियामा उल्टै भ्रष्टाचार गरेको र संसद्मा प्रधानमन्त्री केपी वलीले कोरोनालाई जित्ने औषधी बेसार भएको भन्दै भाषण गरेपछि वलीको सर्वत्र विरोध भएको छ । उक्त कार्यको विरोधस्वरूप नेकपा पाल्पाले बेसार, तातोपानीलगायत सामग्री प्रधानमन्त्री वलीलाई बुझाइएको जनाएको छ ।
नेकपाले एमसीसी सम्झौता र औषधी खरिदमा गरिएको भ्रष्टाचार प्रकरणलगायत विषयमा सङ्घर्ष गर्दै आएको छ । नेकपाले केही दिनअघि एमसीसीविरुद्ध देशव्यापी सङ्घर्षका कार्यक्रम सार्वजनिक गरेको थियो । उक्त कार्यक्रमअन्तर्गत पर्चा वितरण, पोस्टरिङ, कोणसभा, पुतलादहन, मशाल जुलुस, सम्झौतापत्र जलाउने काम सम्पन्न भएको नेकपाले जनाएको छ ।
यता नेकपा कम्युनिस्ट पार्टी रूपन्देहीले पनि प्रधानमन्त्री केपी वलीलाई बेसार, लसुन, अदुवा र तातोपानी पठाएको छ । वली सरकारले कोरोना संक्रमित जनतालाई औषधी उपचार गर्नुको सट्टा औषधी खरिद प्रक्रियामा उल्टै भ्रष्टाचार गरेको र संसदमा प्रधानमन्त्री केपी वलीले कोरोनालाई जित्ने औषधी बेसार भएको भन्दै भाषण गरेपछि देशभर प्रधानमन्त्री वलीको सर्वत्र विरोध भएको छ । उक्त कार्यको विरोध स्वरुप नेकपाले बेसार, तातोपानी लगायत सामग्री प्रधानमन्त्री वलीलाई बुझाएको बताएको छ ।
रुपन्देहीको कञ्चन गाउँपालिका र ओमसोतिया गाउँपालिकाका अध्यक्षलाई भेटेर उक्त सामग्री बुझाएको हो । उक्त सामग्री बुझाउनका लागी अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) रुपन्देहीका अध्यक्ष सोमनाथको नेतृत्वमा कञ्चन गाउँपालिकाका अध्यक्ष गोकर्णबहादुर क्षेत्रीको कार्यकक्षमा पुगेको थियो भने ओमसोतिया गाउँपालिका वडा नं. ६ का अध्यक्ष शिवकुमार धवलको कार्यकक्षमा किसान महासंघका ओमसोतिया गाउँपालिकाका प्रतिनिधिको टिम पुगेको थियो । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) रुपन्देहीका अध्यक्ष सोमनाथले सरकारले राष्ट्रघाती एमसीसी सम्झौता संसदमा पास गराउने तयारी गरेको र कोरोनाले संकट खेपिरहेका जनतालाई उपचार गर्न नसकेकोले सांकेतिक रुपमा प्रधानमन्त्री वलीलाई बेसार, तातोपानी लगायत सामग्री पठाइएको बताए ।
नेकपाले एमसीसी सम्झौता र औषधी खरिदमा गरिएको भ्रष्टाचारका प्रकरण लगायत बिषयमा संघर्ष गर्दै आएको छ । नेकपा रुपन्देहीले केही अघि दिन एमसीसी विरुद्ध साप्ताहिक रुपमा कार्यक्रम गरेको थियो । उक्त कार्यक्रम अन्तर्गत पर्चा वितरण, पोस्टरिङ, कोणसभा, पुत्लादहन, मसाल जुलुस, सम्झौता पत्र जलाउने लगायत संघर्षको कार्यक्रम सम्पन्न गरिसकेको छ ।