अनखबर
असार १२, बुटवल । नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपालले लुम्बिनी ब्युरो अन्तर्गतका रुपन्देही, कपिलवस्तु, नवलपुर, पाल्पा, गुल्मी, अर्घाखाँची जिल्लामा राष्ट्रघाती एमसीसी विरुद्ध प्रदर्शन गरेको छ ।
युवा संगठन नेपाल लुम्बिनी ब्युरो अन्तर्गतका जिल्लाहरुमा लाठी र सिठी सहितको जुलुस प्रदर्शन गरेको छ । रुपन्देहीको बुटवल, पाल्पाको तिनाउ गाउँपालिका, कपिलवस्तुको बाणगंगा नगरपालिका, नवलपुरको कावासोती, गुल्मीको बाँसकटेरी र धुर्कोटको पिपलधारा, अर्घाखाँचीको सितगंगा नगरपालिका, मालारानी, छत्रदेव गाउँपालिका र भूमिकास्थानमा युवा संगठनले लाठी सहित विरोध प्रदर्शन गरेको छ । भूमिकास्थानमा भएको प्रदर्शनमा नेकपा जिल्ला सेक्रेटरी माहुरीले सम्बोधन गर्दै एमसीसी राष्ट्रघाती सम्झौता भएकोले यसलाई खारेज गर्न संघर्ष गर्नुपरेको भन्दै सम्पूर्ण देशभक्त नेपालीहरु एक हुनुपर्ने बताए ।
बुटवलमा भएको विरोध प्रदर्शनमा युवा संगठन नेपालका केन्द्रीय सचिवालय सदस्य एवं लुम्बिनी ब्युरो इन्चार्ज विश्लेषणले केपी वली नेतृत्वको सरकारले एमसीसी सम्झौतामार्फत् नेपाललाई अमेरिकी सेनाको क्रिडास्थल बनाउन खोजेको भन्दै यो सम्झौता कुनैपनि हालतमा खारेज गर्नुपर्ने बताए । उनले अमेरिकी साम्राज्यवादले नेपालले इराक र फिजी बनाउन खोजेको भन्दै यसको युवा संगठन नेपालले शसक्त प्रतिरोध गर्ने बताए । बुटवलमा भएको जुलुसमा युवाहरु रातो टिशर्ट, हातमा लाठी र सिठी सहित एमसीसी विरुद्ध नारा लगाउँदै विरोध प्रदर्शन गरेका थिए ।
त्यसैगरी कपिलवस्तुको विरोध प्रदर्शनलाई सम्बोधन गर्दै अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघका महासचिव प्रकाश चन्द केपी वली नेतृत्वको सामाजिक दलाल पुँजीवादी सरकारले एमसीसीमार्फत् गम्भीर राष्ट्रघात गर्न लागेको भन्दै यसको प्रतिरोधको विकल्प नभएको बताए । उनले जनस्तरबाट एमसीसी र दलाल सरकारको भण्डाफोर गर्नुपर्ने बताए । कार्यक्रममा युवा संगठन नेपाल कपिलवस्तुका अध्यक्ष बादल र जिल्ला सदस्य सागरले पनि सम्बोधन गरेका थिए ।
त्यसैगरी नवलपुरमा भएको सिठी र लाठी सहितको मोटरसाइकल जुलुसमा युवा संगठन नेपालका जिल्ला अध्यक्ष अविनास, पाल्पामा भएको विरोध प्रदर्शनमा जिल्ला अध्यक्ष लिला, गुल्मीको बाँसकटेरीमा नेकपाका नेता बसन्त गैरे र पिपलधारामा चन्द्र विक, अर्घाखाँचीको सितगंगामा अखिल (क्रान्तिकारी) जिल्ला उपाध्यक्ष र जिल्ला सदस्यले, मालारानीमा अखिल (क्रान्तिकारी) जिल्ला सहसचिव नेत्र राना र छत्रदेव गाउँपालिकामा युवा संगठन नेपालका विनोदले सम्बोधन गरेका थिए । उनीहरुले एमसीसी लागु गरेर देशको राष्ट्रियता अमेरिकी डलरमा बेच्ने कुचेष्टा गरिएको भन्दै यसको शसक्त प्रतिरोध गर्ने बताएका थिए ।


नेकपा लुम्बिनी ब्युरोले एमसीसी विरुद्ध निरन्तर संघर्ष गर्दै आएको छ । यसअघि पुत्लादहन, पर्चा वितरण, रित्तो थाली बजाउने, प्रधानमन्त्री वली र कांग्रेस सभापति शेरबहादुर देउवाको बुँख्याचा बनाएर सडकमा लतार्ने, प्रधानमन्त्रीलाई बेसार पठाउने आदि संघर्षको कार्यक्रम सम्पन्न गरिसकेको नेकपा लुम्बिनी ब्युरोले बताएको छ ।