असार २०, बुटवल । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपाल तिलोत्तमा नगरपालिकाको प्रथम भेला सम्पन्न भएको छ । भेलाले लक्ष्मण थारुको अध्यक्षतामा १३ सदस्यीय नगर कमिटी निर्वाचित गरेको छ ।
भेलालाई सम्बोधन गर्दै नेकपा रुपन्देही इन्चार्ज संगमले देश परिवर्तनको जिम्मेवारी युवाहरुको काँधमा आएको भन्दै दलाल संसदीय व्यवस्था विरुद्ध एकीकृत जनक्रान्तिको झण्डामुनि जोडिन आवश्यक रहेको बताए । युवा संगठन नेपाल केन्द्रीय सचिवालय सदस्य एवं लुम्बिनी ब्युरो इन्चार्ज विश्लेषणले राष्ट्रियता, जनतन्त्र र जनजीविकाको पक्षमा युवाहरु एक हुनुपर्ने भन्दै केपी वली सरकारले संसदबाट पास गर्न लागेको एमसीसी सम्झौता खारेजीका विरुद्ध युवाहरुले सम्झौताहिन सङ्घर्ष गर्नुपर्ने बताए ।
भेलामा युवा संगठन नेपाल रुपन्देही जिल्ला अध्यक्ष साइमनको समेत उपस्थिति थियो । कार्यक्रम लक्ष्मण थारुको अध्यक्षता र संचालन अनिश रसाइलीले गरेका थिए ।
यसअघि लुम्बिनी ब्युरो अन्तर्गतका रुपन्देही, कपिलवस्तु, पाल्पा, गुल्मी, नवलपुर, नवलपरासी, अर्घाखाँची जिल्लामा एमसीसी विरुद्ध प्रदर्शन गरेका थिए । युवा संगठन नेपाल रुपन्देहीले रातो ड्रेसमा लठ्ठी सहित एमसीसी परियोजनाको विरोध प्रदर्शन गरेको थियो ।