असार २१, बुटवल । निजी तथा सामुदायिक बिद्यालयले बन्दाबन्दी समयको शुल्क असुली गरेको विरोधमा अखिल (क्रान्तिकारी) लुम्बिनी ब्युरो र अभिभावकले संयुक्त रुपमा विरोध गरेका छन् । विरोध कार्यक्रममा बन्दाबन्दीको समयमा र अनलाइन शिक्षाको नाममा विद्यार्थी र अभिभावकसँग शुल्क लिनु मानवताहिन कार्य भएको बताएका छन् ।

अखिल(क्रान्तिकारी) रुपन्देहीद्धारा आयोजित विरोध प्रदर्शन कार्यक्रममा केन्द्रीय सचिवालय सदस्य एवं लुम्बिनी ब्युरो संयोजक बिरेन्द्र विकले शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता आधारभूत बिषय राज्यको दायित्व भएको भन्दै शिक्षालाई नाफासँग जोडेर माफियाकरण गर्नु गलत भएको बताएका छन् । उनले अनलाइन शिक्षा अव्यवहारिक भएको अझ त्यसको नाममा शुल्क अशुल्न गम्भीर भएको बताउँदै यस्तो कार्य रोक्न संगठनले संघर्ष गरेको बताए । जिल्ला अभिभावक संघ रुपन्देहीका अध्यक्ष एवं केन्द्रीय सदस्य लोकनाथ ज्ञवालीले निजी तथा सामुदायिक विद्यालयले बन्दाबन्दी समयको शुल्क लिँदा विद्यार्थी तथा अभिभावकलाई मर्का परेको भन्दै यसका विरुद्ध सबै अभिभावक र सरोकावाला गम्भीर हुनुपर्ने बताए ।

लुम्बिनी ब्युरो अन्तर्गत कपिलवस्तुको दुईस्थानमा, अर्घाखाँची, पाल्पा, नवलपुर र रुपन्देहीमा संगठनले विरोध सभा गरेको ब्युरो संयोजक बिरेन्द्र विकले बताएका छन् । नवलपुरमा केन्द्रीय सदस्य रूपा बुढा मगर, पाल्पामा जिल्ला अध्यक्ष लंक राना, कपिलवस्तुमा विज्ञान, अर्घाखाँचीमा जिल्ला अध्यक्ष नवीनले विरोध सभालाई सम्बोधन गरेका थिए । विरोध सभामा विद्यार्थी एवं अभिभावकहरुको उपस्थिति रहेको थियो ।

अखिल (क्रान्तिकारी) लुम्बिनी ब्युरोले शुल्क असुली विरुद्ध विभिन्न चरणबद्ध संघर्षको कार्यक्रम घोषणा गरेको थियो । जस अन्तर्गत ध्याकर्षण पत्र बुझाउने, सरोकारवालासँग अन्तरक्रिया सम्पन्न गरिसकेको संगठनले बताएको छ ।