पाल्पा । पाल्पामा मृत भनी दाहसंस्कार गरिएका व्यक्ति जीवित भेटिएका छन्। गुल्मी जिल्ला रुरु गाउँपालिका– ५ बम्गाका ६५ वर्षीय श्यामशरण भण्डारी पाल्पाको रैनादेवी छहरा गाउँपालिका–१ अर्चलेमा जीवित अवस्थामा भेटिएको रिडीमा बसोबास गर्दै आएका चुरामणि तिमिल्सिनाले बताउनुभयो।

गुल्मी निवासी भण्डारी हाल रुपन्देहीको मणिग्राममा सपरिवार बसोबास गर्दै आएका थिए। श्यामशरण घरमा पु¥याउँदा परिवार र आफन्तहरुको भीडभाड लागेको थियो।

केही दिनअघि रुरु गाउँपालिकास्थित कालीगण्डकी नदी क्षेत्रमा पुरुषको लास भेटिएको थियो। पुरुषको लासलाई श्यामशरणको लास भनी आफन्तले दाहसंस्कार गरेका थिए।

किरिया बसेको नौ दिनमा जीवित भेटिएपछि आफन्त खुशी देखिएका छन्। पाल्पा अर्चलेका भीष्मा पन्तले श्यामशरण जीवित भेटिएको जानकारी तिमिल्सिनालाई जानकारी गराउनु भएको थियो।

कालीगण्डकी क्षेत्रमा भेटिएको र श्यामशरणको भनी दाहसंस्कार गरिएको शव कसको थियो भन्ने अहिलेसम्म खुलेको छैन। रासस