खोटाङ, असार ३० । जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय खोटाङका प्रमुख नारायणकाजी श्रेष्ठलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस लिँदालिँदै पक्राउ गरेको छ । उनलाई सेवाग्राहीबाट ९ लाख ३४ हजार घुस लिइरहेको अवस्थामा अख्तियारको टोलीले कार्यालयबाटै पक्राउ गरेको हो ।

श्रेष्ठको साथबाट स्रोत नखुलेको ९९ हजार ५ सय रुपैयाँ पनि जफत गरिएको बताइएको छ । हाल जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय आसपासमा सिल गरेर कसैलाई प्रवेश गर्न दिइएको छैन ।

खोटाङका प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले सिंचाइ कार्यालयका प्रमुख नारायणकाजी श्रेष्ठलाई अख्तियारले पक्राउ गरेको पुष्टि गरे ।

यस विषयमा विस्तृत जानकारी केहीबेरमा सार्वजनिक गरिने अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालय टंगालका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।