असार ३१ जनकपुर संवाददाता ।गएको विवाह पञ्चमीमा दुबै जनाले राम सीताजस्तै धुमधामका साथ विवाह गर्ने बाचा मात्र गरेनन्, जुनी जुनीसँगै बिताउने कसम समेत खाए। प्रेमको सागरमा डुबेका दुबैजनालाई न जातपातको मतलब थियो न घरपरिवार र समाजकै। प्रेम संसारमा रमाइरहेका दुबैजना अनेकन सपना बुनिरहेका थिए। तर यो खुसीको धेरै टिकेन।

‘गर्भवती भएको तीन महिनापछि मैले थाहा पाएँ। सुरुमा उ पोजेटिभ नै थियो तर पछि फोन गर्दा तिमी को हो? म तिमीलाई चिन्दिन भनेपछि मेरो सातो उड्यो,’ महोत्तरीको जलेश्वरकी २० वर्षीय युवती सरला(परिवर्तित नाम)ले भनिन्। डाक्टरले साउन दोस्रो साता ‘डेलिभरी’ हुने भनेका छन्।

सुत्केरी हुने समय नजिकिँदै गर्दा सबै आफन्तबाट एक्लिएकी उनी साथीको घरमा चिन्तित अवस्थामा छिन्। साथ दिने कोही छैन, जताततै तिरस्कार छ। अति माया गर्ने आमाबुबा समेत टाढिएका छन्। उनी घर जानै सक्दिनन्।

‘मन बाँधेर अगाडि बढ्ने कोसिसमा छु’, उनी भन्छिन्, ‘तर मान्छेको मन हो, दुखिरहँदो रहेछ।’ गएको मंसिरमा गर्भवती भएकी उनी घर परिवार, आफन्त, समाज चारैतिरबाट गर्भ फाल्न दबाब दिएपछि उनी आत्महत्या गर्न विष समेत किनिसकेको थिइन्।

तर स्कुलका एकजना साथीले उनलाई सहयोग गर्न र आश्रय दिन तयार भएपछि उनी त्यो कदमबाट पछि हटिन्। सुरुमा व्यवहारिक रुपमै समस्या समाधान गरी शिवराज(पूर्व प्रेमी) र उनका परिवारलाई जसरी पनि मनाउन हरसम्भव प्रयास गरिन्।

तर नसकेपछि कानुनीबाटो रोजेको उनले सुनाइन्। युवतीका अनुसार सुरुमा शिवराज र उनका आमाबुवाले गर्भ फाल्न निकै करबल गरेका थिए।

‘तर मैले मान्दै मानिनँ। म पहिलो बच्चालाई कुनै हालतमा जन्माएर हुर्काउन चाहन्छु। म आफ्नै बच्चालाई मार्न सक्दिन,’ उनले भनिन्। साथीको घरमा गुजारा गरिरहेकी उनको मनभित्र पीडाको ज्वारभाटा चलिरहेको छ। ९ महिनाकी गर्भवती उनी न्यायकालागि दिनहुँ प्रहरी, प्रशासन र वकिल कार्यालय धाइरहेकी छन्।

‘सिडियोको ड्राइभर र प्रहरी शिवराजको मामा पर्छन्। त्यसै कारण सुरुमा प्रहरीले जाहेरी दर्ता गर्न मानिरहेको थिएन्,’ उनले भनिन्, ‘धेरै दबाब दिँदा फागुनमा बिहे गरेर लान्छ भनेर प्रहरीले भनेको थियो। तर पछि उनको आमाले छोरालाई भगाइदिए।’

राजनीतिक दबावमा लामो समयसम्म प्रहरीले जाहेरी दर्ता इन्कार गरेको उनको आरोप छ। एक जना नेकपा नेतृकै दबाबका कारण सेफ हाउसमा समेत गर्भ तुहाउन निकै दबाव खेप्नु परेको उनले सुनाइन्।

‘२ गते चैतमा जाहेरी दर्ता भयो। त्यसपछि शिवराजले म्यासेज गरेर जाहेरी फिर्ता लिन मलाई दबाब दियो। उ अझै खुलेयाम घुमिरहेको छ। तर प्रहरीले तिनै नेताको दबाबमा उनलाई पक्राउ गर्न मानेको छैन्,’ उनले थपिन्।

धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले शिवराजविरुद्ध जबर्जस्ती करणीको मुद्दा दर्ता गरेपछि उनी फरार भएको बताए। ‘उनी फरार छन्। प्रहरी खोजतलासमा जुटेको छ। हामीले उसको आमामाथि समेत अभद्र व्यवहारमा मुद्दा चलाएका छौँ,’ उनले भने। नेताहरुले घटना दबाउन कुनै दबाब नदिएको उनले दावी गरे।

यसरी सुरु भयो प्रेम

ब्याचलर इन होटेल म्यानेजमेन्ट (बिएचएम) गर्ने सपना बोकेकी उनी काठमाडौँस्थित नासा इन्टरनेशनल कलेजमा भर्ना गराइन्। आर्थिक रुपमा सम्पन्न भएकाले आमा–बुवाले उनलाई एसईई पास गरिसकेपछि अगाडिको पढाइका लागि काठमाडौँ पठाएका थिए। ११ कक्षा उनले चाहे अनुसारको धेरै राम्ररी पढ्न सकिनन्। राम्रो कलेजमा बिएचएम गर्न उनलाई राम्रो अंक ल्याउनुपर्ने थियो।

त्यहाँ परीक्षामा कडाई हुने हुँदा राम्रो अंक ल्याउन उनी जनकपुरस्थित राजर्षि जनक क्याम्पसमा भर्ना भइन्। काठमाडौँमा सँगै कोठामा बस्ने साथीमार्फत त्यहीँ कलेजमा १२ कक्षामै पढ्ने युवतीसँग उनको मित्रता भयो। उनको ती साथी पढाइका साथै पार्टटाइम अफिसमा काम समेत गर्थिन्।

दिनभरी कोठामा बस्दा दिक्क लागेपछि कहिलेकाहीँ उनी साथीसँगै उनको अफिस पुग्थिन्। त्यहीँ क्रममा अफिसमै काम गर्ने धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरका शिवराजसँग उनको पहिलो भेट भयो। त्यहीँ दुबैजनाबीच समान्य कुराकानी हुँदाहुँदै फेसबुकमा साथी बने फेसबुकमा च्याट गर्दागर्दै दुवैले एक अर्कालाई भेट्न इच्छुक भए।

दुबैजनाको एकअर्काको नजिक हुन थाले। मित्रता झनै प्रगाढ हुन थालेपछि उनी शिवराजको घरमै पुग्न थालिन्। दुबैजनाबीच भेटघाट बाक्लिदै गएपछि शिवराजले उनलाई परिचय गराउन आफ्नो घर पनि लगे। उनको बहिनी र आमासित उनी झनै नजिकिइन्। त्यसैक्रममा पछिल्लो वर्षको मंसिरमा विवाहपञ्चीमा दुबैजनाको भेटघाट भयो। उनीहरू प्रेममा परेको कुरा पनि पहिलो भेटमै पक्का भयो। विवाह गर्ने, जुनीभरि एक भएर बस्ने वाचा–कसम खाए।

‘हाम्रो प्रेमको विषयमा उनको घरपरिवारलाई पनि राम्ररी थाहा थियो। काठमाडौँबाट फर्किएपछि २५ दिन शिवराजकै घरमा बसे। त्यहीँबीचमा हाम्रो सम्बन्ध पनि भयो,’ उनले सुनाइन्, ‘काठमाडौँ जाँदा एकाएक बेहोस भएँ। अस्पताल पुगेर चेकजाँच गराउँदा गर्भ बसेको थाहा पाएपछि डरले मेरो होसहवास उड्यो।’

गर्भवती रहेको थाहा पाएलगतै अस्पतालबाटै उनी शिवराजलाई फोन गरिन्। ‘गर्भ तुहाउने कि राख्ने बारेमा उसले मलाई सोधेपछि मैले कुनै हालतमा राख्छु भने तर उसले घर पुगेर भन्छु भनेर फर्किए। पछि फोनमा कुनै हालतमा गर्भ नराख्न दबाब दियो।’

उनी विवाह नभइ गर्भवती भएको कुरा फैलिदै गयो। हुँदाहुँदै उनको गाउँ घर छरछिमेकसम्मै पुग्यो। घरपरिवारबाट दिनहुँ गाली, मानसिक यातना दिन थालियो। आमाबुबाले पनि उनलाई धिक्कार गर्न थाले। बुवा आमाले गर्भ नफालेर घर फर्किए विष खाएर मर्ने बताएपछि उनी परिवारबाट मात्र नभइ समाजबाटै एक्लिइन्।

पछि शिवराजले उनलाई समाजिक संजालकासाथै मोबाइलमा समेत ब्लक गरिदिए। उनको आमा बुवाले समेत उल्टै गाली गलौज गर्दै अर्को गर्भ फाल्न दबाब दिएको उनले पीडा पोखिन्। ‘उनको आमाले अरुको गर्भ बोकेर मेरो बुहारी बन्न खोज्छस् भनेर गाली गर्छन्। उनको बहिनीले मेरो नम्बर धेरैलाई बाँड दिएछन्। दिनरात मलाई नयाँ नम्बरबाट मान्छेहरुले फोन गरेर गाली गर्छन्। मैले सबै अडियो रेकर्ड प्रहरीलाई सुनाएछु तर प्रहरीले केही गरेको छैन्,’ उनले थपिन्।

अहिले उनी विभिन्न संघ–संस्थामा निवेदन दिएर न्यायको पर्खाइमा छिन्। यी संघ–संस्थाका पनि कतिपय व्यक्तिले गर्भ फाल्न दबाब पनि दिएको उनी बताउँछिन्।

अहिले प्रदेश २ का प्रहरी प्रमुख डीआईजी धीरजप्रताप सिंह र धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले न्याय दिलाउने विश्वास दिलाएको उनी बताउँछिन्। उनी भन्छिन्, ‘म त खाली आशा गरेर बस्न बाध्य छु, हेरौं के हुन्छ।’नागरिक