साउन १, सल्यान । जबर्जस्ती लकडाउनको समयमा समेत किस्ता र ब्याज असुली गरेकाे भन्दै सल्यानमा विप्लव नेकपाले जिल्ला स्थित मुक्तिनाथ बैंककाे सटरमा बम राखेकाे छ । जिल्लाकाे बागचौर नगरपालिकाको बागचौर बजारमा रहेको मुक्तीनाथ विकास बैंकको शाखा कार्यालयको सटरमा गएराती बाल्टिन बम भेटिएको स्रोतले बताएको छ ।
नेकपाकाे जनपरिषद सल्यानको नाममा कार्यालय बाहिर बम राखेको र बमसंगै राखेको पर्चामा कोरोना महामारीको समयमा समेत किसानहरुसंग ऋण असुली गरेको, लकडाउनको समयमा किसानहरुलाइ ऋण तिर्न बाध्य पारेको लगायतका कुरा पर्चामा लेखिएकाे छ ।
बम राखेकाे जिम्मा विप्लव नेकपाले लिएकाे छ । साे पार्टीका सल्यान जिल्ला सेक्रेटरी तुफानले महामारीका बेला बैंक तथा लघुवित्तले नागरिकहरुबाट ब्याजी किस्ता असुलीरहेकाे कारण चेतावनी स्वरुप जनपरिषद् सल्यानका संयाेजक बारुदकाे नेतृत्वमा पहिलाे कारबाही स्वरुप यस्ताे कार्य गरेकाे बताए । उनले अब पनि बैंक तथा लघुवित्तहरुले किस्ता उठाउन नछाेडे कडा कारबाही गर्ने बताए । यसअघि पनि साे पार्टीले लकडाउनमा किस्ता नउठाउन प्रेस विज्ञप्ती जारी गरेकाे थियाे ।