पुजा लम्साल ,साउन ३ नवलपरासी।पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका २ मुडेराबाट ५३ बोरा युरीया मल सहित २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
भारतबाट अवैध रुपमा भन्सार छलि ल्याएको युरिया मल मुडेराका स्थानिय लख्खी प्रसाद केवट सहानीको घरमा लुकाई छिपाई राखेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र सिमा प्रहरी चौकि महेशपुरबाट खटिएको संयुक्त प्रहरी टोलिले सहनीको घर खोजतलास गर्दा उक्त परिमाणको अबैध मल बरामद गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक राजु लामाले जानकारी दिनुभयो । सोधपुछका क्रममा सहानी संगै सोही स्थानका उदयराज यादवको पनि संलग्नता रहेको देखिएकाले दुबै जनालाई नियन्त्रणमा लिइएको प्रहरी नायव उपरीक्षक लामाले बताउनुभयो ।
बरामद युरीया मल प्रति बोरा रु.८ सय ५० का दरले ५३ बोराको मूल्य रु. ४५ हजार ५० रहेको प्रहरीले जनाएको छ । बरामद ५३ बोरा मल सहित दुबै जनालाई आवश्यक कारवाहीका लागी महेशपुर भन्सार कार्यालय बुझाएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।