साउन ४, नवलपुर ।विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, नवलपुरले वर्षाले गर्दा पहिरोका कारण बजारबाट विमुख हुन पुगेका स्थानीय जनताको अवरुद्ध बाटो जिल्ला पार्टीको नेतृत्वमा मर्मत गरि सुचारु गरेको छ । यसबाट स्थानीय जनताले राहत पाएका छन् ।

जिल्ला जनसरकार प्रमुख विशाल, युवा संगठन नेपाल, नवलपुरका अध्यक्ष अविनाश, अखिल (क्रान्तिकारी) नवलपुर जिल्लाका उपाध्यक्ष स्वरुप सहित पाँच जनाको नेतृत्वमा दर्जन बढी स्थानीय जनताको जनसहभागितामा पहिरोका कारण अवरुद्ध मोटरबाटो स्थानीय कुटो, कोदालो, बेल्चा गैंटिको प्रयोग गरेर उक्त मोटरबाटो संचालनमा ल्याएको हो । उक्त पार्टीले जिल्लाको हुप्सिकोट गाउँपालिकाको सय मिटर अवरुद्ध मोटरबाटो संचालनमा ल्याएको छ ।

स्थानीय जनप्रतिनिधि कर बढाउने र भ्रष्टाचारमा व्याप्त भएको तथा आम जनताको जीवनस्तरमा ध्यान दिन नसकेको भन्दै युवाका अध्यक्ष अविनाशले जनप्रतिनिधि लखेट्नुको विकल्प नरहेको बताउनुभयो । स्थानीय जनताले जिल्ला पार्टीलाई धन्यवाद व्यक्त गर्नुका साथै पार्टीप्रति आफ्नो साथ, सहयोग रहने प्रतिबद्धता समेत ब्यक्त गरे ।