साउन १३
बुटवल । अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय बुटवलले भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको मुआब्जा वितरणमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस लिँदै गर्दादुई जनालाई घुस रकमसहित रंगेहात नियन्त्रणमा लिएको छ ।
विमानस्थलमा कार्यरत कार्यालय सहयोगी विश्वनाथ यादव लोध र मोतियार महेन्द्र यादवलाई भैरहवास्थित सेन्चुरी बैंकबाट ४ लाख घुस लिदै गर्दा रंगेहात पक्राउ गरिएको अख्तियार बुटवल कार्यालयका प्रवक्ता सुरेश भुसालले जानकारी दिएका छन् ।
निर्माण भइरहेको विमानस्थलमा अहिलेसम्म २१ अर्ब ५० करोड रुपैयाँ बढी मुआब्जा वितरण भइसकेको छ । विमानस्थल विस्तार गर्दा अधिग्रहण गरिएको जमिनको मुआब्जा वितरण गर्न २३ अर्ब रुपैयाँ लाग्ने जनाइएको छ।