बुटवल, साउन १७
रुपन्देहीको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको पिसिआर परिक्षणमा कोरोना पोजेटिभ देखिएका दुईजना सम्पर्क विहिन भएका छन् ।
भारतबाट आएका उनिहरुले शुक्रवार लुम्बिनी प्रादेशीक अस्पतालको प्रयोगशालामा स्वाव परिक्षण गराएका थिए । शुक्रवार संकलन गरिएको स्वाव परीक्षण गर्दा कोरोना पुष्टि भएपनि उनिहरु भने अस्पतालको सम्पर्क बाहिर गएको बताईएको छ ।
स्वाव परिक्षण गर्दा बुटवल उपमहानगरपालिका वडा नं। ६ ठेगाना टिपाएका उनीहरुको अस्पतालमा दिएको मोबाईल नम्बरमा समेत सम्पर्क नहुने अस्पताल श्रोतले जनाएको छ ।
प्रदेश जनस्वास्थ्य प्रयोगशाला प्रमुख डाक्टर राजेन्द्र गिरीले रिपोर्ट कोरोना पोजेटिभ आएपछि अस्पतालबाट गएको पहिलो फोन उठाएपनि रिपोर्ट पोजेटिभ आएको भन्ने वित्तिकै मोबाईल नलाग्ने गराएको बताए ।
टेलिफोन उठाउने वित्तिकै बुटवलको गल्लामण्डीमा रहेको बताएका उनिहरु त्यसलगत्तै मोबाईल नलाग्ने गराएर सम्पर्क विहिन भएको गिरीले जानकारी दिए ।
भारतिय सिमाक्षेत्रबाट दिनदिनै मानिसहरु आईरहंदा कोरोनाको जोखिम बढिरहेको बेला पोजेटिभ भेटिएका व्यक्तिहरु नै सम्पर्क विहिन भएपछि सर्वसाधारण त्रसित बनेका छन् ।