पुजा लम्साल,भदौं ४ नवलपरासी ।
लकडाउनको मौका छोपेर यतिवेला पश्चिम नवलपरासीको सीमावर्ती क्षेत्रमा चोरी तस्करी गर्नेहरु सक्रिय भएका छन् । दिनहु जसो प्रहरीले अवैध सामान सहित संलग्नलाई पक्राउ गर्ने गरेको खबर आइरहन्छ । बिहिबार पनि प्रहरीले जिल्लाका बिभिन्न स्थानबाट सवारी चालक संगै १३ लाख ५८ हजार मुल्य बराबरका पिकअप गाडि, युरिया मल, भैसी, हरियो मटर नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सुचना अधिकारी एवं प्रहरी नायव उपरिक्षक राजु लामाका अनुसार सुस्ता गाउपालिका २ कुडियाबाट चालक सहित पिकअप गाडि र ४० बोरा युरिया मल बरामद गरिएको छ ।
इलाका प्रहरी कार्यालय बेलाटारी र प्रहरी चौकि कुडियाबाट खटिएको प्रहरी टोलिले रामनगरबाट कुडिया तर्फ आउदै गरेको बाग्मति प्रदेश ०३ ००१ च ०३१२ नं को पिकअप गाडिलाई रोकि चेकजाच गर्ने क्रममा उक्त गाडिमा ४० बोरा युरिया मल फेला पारी सोधपुछ गर्दा सम्बन्धित कुनै कागजपत्र फेला नपरे पछि सवारी चालक सहित पिकअप र युरिया मल नियन्त्रणमा लिइएको प्रहरी नायव उपरिक्षक लामाले जानकारी दिनुभयो । बरामद युरिया मल प्रति बोरा ७ सय ५० का दरले ४० बोराको ३० हजार मुल्य बराबर र पिकअप गाडिको १२ लाख गरि जम्मा १२ लाख ३० हजार मुल्य बराबर रहेको छ ।
त्यसैगरि बिहिबारै भारतबाट नेपाल तर्फ अवैध रुपमा ल्याउदै गरेको २ वटा भैसी र १ वटा भैसीको पाडोलाई सिमा प्रहरी चौकि महेशपुरको टोलिले सरावल गाउपालिका ७ झरही खोलाबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उक्त २ वटा भैसी र १ वटा भैसीको पाडोको मुल्य ९० हजार बराबर रहेको छ । यसैगरि जिल्लाको प्रतापपुर र सरावलको सिमावर्ति क्षेत्रबाट पनि ३८ हजार मुल्य बराबरको ४सय ७५ केजि हरियो मटर पनि बरामद गरिएको प्रहरीले जनाएको छ । नियन्त्रणमा लिइएका १ पिकअप गाडि,सवारी चालक, ४० बोरा युरिया मल, २ वटा भैसी, १ भैसीको पाडो र ४ सय ७५ केजि हरियो मटर आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।