असोज ४, बुटवल
विद्रोही नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले एक विज्ञप्ती सार्वजनिक गरेका छन । अक्षरमा निकै छोटो रहेको विज्ञप्तीको आशय भने अर्थपूर्ण छ ।
नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले वर्तमान दलाल पुँजीवादी राज्यसत्ता पूर्ण रूपमा असफल भइसकेकाले सत्ताको पूर्ण परिवर्तनका लागि पहल लिन सबै अग्र्रगामी, प्रगतिशील, जनवादी, देशभक्त, लोकतान्त्रिक शक्तिहरूसमक्ष आह्वान गरेका छन् ।
महासचिव विप्लवले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै देशको कुशासन, भ्रष्टाचार, राष्ट्रघातलगायत सङ्कटले दलाल पुँजीवादी राज्यसत्ताको असफलता पुष्टि गरेको निष्कर्ष पनि प्रस्तुत गरेका छन् ।
प्रेस विज्ञप्तिमा महासचिव विप्लवले भनेका छन्, ‘यो असफलता र सङ्कटको निकास संविधान संशोधन वा परिमार्जन नभएर राज्यव्यवस्थाको परिवर्तन हो ।’ विप्लवले सबै अग्र्रगामी, प्रगतिशील, जनवादी, देशभक्त, लोकतान्त्रिक शक्तिहरूले राज्यसत्ताको पूर्ण परिवर्तनका लागि नयाँ आधारमा नयाँ पहल गर्न अत्यन्त जरुरी भएकाले सबैलाई यस दिशामा अग्रसर हुन विशेष आग्रह पनि गरेका छन् ।
विना सन्दर्भ सार्वजनिक गरिएको छोटो विज्ञप्तीमा उल्लेख गरीएका शब्दले राजनीतिक बृत्तमा बिशेष चर्चा पाएको छ ।
महासचिव विप्लवले जारी गरेको प्रेस विज्ञप्तिको पूर्ण पाठ यसप्रकार रहेको छ :
‘आज देशको कुशासन, भ्रष्टाचार, राष्ट्रघातलगायत सङ्कटले दलाल पुँजीवादी राज्यसत्ताको असफलता पुष्टि गरेको छ । यो असफलता र सङ्कटको निकास संविधान संशोधन वा परिमार्जन नभएर राज्यव्यवस्थाको परिवर्तन हो । तसर्थ सबै अग्र्रगामी, प्रगतिशील, जनवादी, देशभक्त, लोकतान्त्रिक शक्तिहरूले राज्यसत्ताको पूर्ण परिवर्तनका लागि नयाँ आधारमा नयाँ पहल गर्न अत्यन्त जरुरी हुन गएको छ । हामो पार्टी सबैलाई यस दिशामा अग्रसर हुन विशेष आग्रह गर्दछ ।’