अनखबर गैंडाकोट असोज १८ / विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) जिल्ला समिति,नवलपुरले गैंडाकोट नगरपालिकामा दर्जनौं विद्यार्थी सहित विरोध प्रदर्शन गरेको छ।
राष्ट्रिय स्वाधीनता माथिको हस्तक्षेप, शिक्षा र स्वास्थ्य सम्बन्धि समस्या तथा बलात्कार र हत्या बिरुद्दमा कालो ब्यानर सहित प्रदर्शन गरिएको स्रोतले जानकारी गराएको छ। प्रदर्शनमा अखिल (क्रान्तिकारी ) का जिल्ला संयोजक, अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य तथा नेपाल कम्युनिस्ट पार्टी गैंडाकोट नगरपालिकाका इन्चार्जको समेत उपस्थिति रहेको थियो। दर्जनौं विद्यार्थी र नेता कार्यकर्ताको उपस्थितिमा भएको विरोध कार्यक्रम कोणसभामा परिणत भएको थियो।

कोणसभामा नेपालको भूभाग र सिमा सम्बन्धि पुस्तक प्रकाशन नगर्न प्रधानमन्त्रीले दिएको अभिव्यक्ति, राष्ट्रिय स्वाधीनता माथिको हस्तक्षेप, बलात्कार सम्बन्धमा गृहमन्त्रीले दिएको अभिव्यक्ति, कोरोना महामारीको समयमा शिक्षा र स्वास्थ्यमा देखिएका समस्या लगायतका विषयमा वक्ताहरूले बोलेका थिए।

विप्लव नेतृत्वको नेकपा निकट भातृ संगठन अखिल (क्रान्तिकारी) , नवलपुरले एमसीसी, रुकुम हत्याकाण्ड, सामाजिक विकृति,विसंगति बिरुद्ध प्रदर्शन गरिसकेको छ भने रक्तदान कार्यक्रम समेत यसअघि सम्पन्न गरेको थियो।