बुटवल, मंसिर १५/अर्थमन्त्री एवं नेकपाका महासचिव बिष्णु पौडेलले रुपन्देही जिल्ला आर्थिक, पर्यटन, उद्योग र सामाजिक गतिविधिका हिसाबले देशकै अग्रस्थानमा स्थापित हुने बताएका छन् ।
रुपन्देही उद्योग संघको ४३ औं स्थापना दिवस एवं ४२ औं बार्षिक साधारण सभालाई सोमबार सम्बोधन गर्दै पौडेलले रुपन्देहीका हरेक बिकास निर्माणका कामको नेतृत्व र जिम्मेवारी समेत आफुले लिने प्रतिवद्धता व्यक्त गरेका हुन् ।
नेपाली उद्योगि व्यवसायीले उठाउदै आएका औद्योगिक क्षेत्रको बिकास, बिधुत डिमाण्ड शुल्क, ट्रन्कलाईन लगायतको समस्याप्रति आफ्नो ध्यान केन्द्रीत भएको र ती समस्या समाधानमा आफू उद्योगिको साथमा सधै रहने बताए ।
रुपन्देही क्षेत्र नम्बर २ का साम्सद समेत रहेका अर्थमन्त्री पौडेलले कोरोना महामारिका कारण सरकारको अहिलेको ध्यान स्वास्थ्य क्षेत्रलाई सुदृढ बनाउने तर्फ केन्द्रीत भएको र सोही अनुरुप सोमबार देशका ३ सय ९६ वटा पालिकामा १५ शैयाको अस्पताल शिलान्यास गर्न लागिएको जानकारी दिए ।
संघका अध्यक्ष बाबुराम बोहोराले औद्योगिक क्षेत्रको अभावमा महँगो जग्गा लिएर उद्योग संचालन गरेका उद्योगिहरुलाई प्रोत्साहन गर्नेगरी सरकारले कार्यक्रम ल्याउन आग्रह गरे ।
कार्यक्रममा संघका पुर्व अध्यक्षहरुलाई सम्मान गरिएको थियो । त्यस्तै ३५ हजार राशिको उत्कृष्ट औद्योगिक पत्रकारिता पुरस्कार २०७६ बाट पत्रकार कृष्ण खनाललाई सम्मानित गरिएको थियो ।
संघका वरिष्ठ उपाध्यक्ष माधव पौडेलको स्वागत, सचीव हिरामणी भट्टराईको संचालन तथा दिलिप सापकोटाको धन्यवादमा सम्पन्न कार्यक्रममा महासचिव जिवकान्त काफ्लेले एकबर्षको अवधीमा संघले गरेका कार्यहरुबारे जानकारि गराउनु भएको थियो ।
सो अवसरमा नेपाल उद्योग परिसंघका उपाध्यक्ष कृष्ण अधिकारी, परिसंघका लुम्बिनी प्रदेश अध्यक्ष एजाज आलम, संघका अध्यक्ष परिषदका संयोजक सतिषचन्द्र कशौधन, नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष दिनेश पाण्डे, चितवन उद्योग संघका अध्यक्ष राजुपौडेल, पुरस्कृत पत्रकार कृष्ण खनाल लगायतले शुभाकामना मन्तव्य राख्नुभएको थियो ।