पुस २/बुटवल
सामाजिक कामहरू गर्दै आएको रुपन्देहीको स्थापित सामाजिक संस्था घरघरमा हामीले न्यानो कपडा वितरण सुरु गरेको छ ।
विहिबार विहान सैनामैना ८ को बासगढी नजिकै रहेको शान्ति टोलमा रहेका ११ परिवारलाई न्यानो कपडा वितरण गरेको हो । टोलमा रहेका मुसहर, दरबारिया, दलित एवं मधेसी लगायतका विपन्न मानिसहरुलाई न्यानो कपडाहरु स्विटर, ज्याकेट, टोपी, टाउजर, सट, टिसर्ट, पाईन्ट लगायतका कपडाहरु वितरण गरेको हो ।
न्यानो कपडा वितरण अभियानमा बोल्दै संस्थाका संयोजक शिव डुम्रेले सडकको छेउमै भएर पनि उपेक्षित बनेको शान्ती टोलको लागि आवश्यक पर्ने सहयोग गर्ने बताए, उनले बस्तीमा खाद्यान्न, लत्ताकपडा लगायत कुनै पनि कूराको अभाव हुन नदिने भन्दै वडा र नगरबाट बस्तीको बाटो र विजुलीबत्तीको लागि पहल गर्ने बताए ।कपडा लिदै स्थानीय रामचन्द्र थारुले संस्थाले विगतमा र अहिले गरेको सहयोगलाई धन्यवाद दिदै बस्तीमा बिजुलीबत्ती र बाटो बनाईदिनको लागि पहल गर्न अनुरोध गरेका थिए । अभियानले केही समय अगाडी खाद्यान्न वितरण गरेको स्मरण गर्दै बस्ती र त्यहाँका समस्यामा सधैं हातेमालो गर्ने संस्थाले जनाएको छ । सैनामैनास्थित वडास्तरीय बाल क्लबले संचालन गरेको कपडा बैंक र बुटवल शंकरनगरमा रहेको न्यु लाईट कलेजका विद्यार्थीहरुको सक्रियतामा घरघरमा हामी अभियानले न्यानो कपडा संकलन र वितरण गरेको हो । अभियानले जाडोभर निरन्तर कपडा संकलन र वितरण गर्ने संयोजक डुम्रेले बताए । चरणबद्ध रुपमा सडक बालबालिका, बेसहारा, विपन्न बर्ग एवं विद्यार्थीहरुलाई कपडा वितरण गरिने संस्थाले जनाएको छ । कोरोनाको समय संस्थाले खाद्य बैंक संचालन गरेको थियो नियमित सामाजिक कामहरुमा सक्रिय छ ।