पुस १८ कास्की ।
१० बर्षे जनयुद्धका क्रममा तत्कालीन राज्यद्धारा बेपत्ता पारिएका मर्स्याङदी गाउँपालिका ९ सिम्पानीका तेजबहादुर भण्डारीको स्मरणमा विहीबार एक कार्यक्रमको आयोजना गरिएको छ । सहिद तथा बेपत्ता स्मृति प्रतिष्ठान, मस्र्याङ्दी गाउँपालिका र सामाजिक न्याय समितिको संयुक्त आयोजनामा विहिबार लमजुङमा एक कार्यक्रमका विच राज्यद्धारा बेपत्ता पारिएका भण्डारीको स्मरण गरिएको हो । सहिद तथा बेपत्ता स्मृति प्रतिष्ठानका अध्यक्ष दयासागर घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै नेकपा(नेकपा) केन्द्रिय सदस्य एवं संविधान सभा सदस्य जमिन्द्रमान घलेले सहिद तथा बेपत्ताहरुले देखाएको बाटोमा हिड्न सके उनीहरुको सपना पुरा हुने जिकिर गर्नुभएको थियो । नेता घलेले आफ्नै पार्टी सरकारमा रहँदा समेत शहिद तथा बेपत्ता पारिएकाहरुको विषयमा छानविन हुन नसक्नु लज्जास्पद भएको बताउनुभयो । कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य बम बहादुर थापा, जिल्ला समन्वय समिति लमजुङका सदस्य नन्दराम विक, मस्र्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङ, उपाध्यक्ष होम बहादुर विक, नेकपाका जिल्ला सदस्य जित बहादुर गुरुङ, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य नवीनराज कुइँकेल, तेज बहादुर भण्डारीका छोरा रामकुमार भण्डारी लगायतल मन्तब्य राख्नुभएको थियो ।

कार्यक्रममा मस्र्याङ्दी ३ का अध्यक्ष प्रेम बहादुर बस्नेत, ९ का अध्यक्ष नारायाण बहादु थापा लगायतको उपस्थिति रहेको थियो । मस्र्याङ्दी गाउँपालिका ९ (साविक सिम्पानी गाविस ३) घर भएका शिक्षक तेजबहादुर भण्डारीलाई २०५८ पुस १६ गते बेंसीसहरको मनाङे चौताराबाट सशस्त्र सुरक्षाफौजले बेपत्ता बनाएको थियो । प्रमुख जिल्ला अधिकारीले बोलाएको भन्दै बेंसीसहर आउनुभएका उहाँलाई संयुक्त सुरक्षाफौजले मनाङे चौतारीमा पक्राउ कुटपिट गरेर हत्कडी लगाई लगेका थिए ।

तेजबहादुरलाई बेपत्ता बनाइएपछि परिवारले खोजी गरिदिन भन्दै सरकार र अन्तराष्ट्रिय निकायलाई गुहारेको थियो । भण्डारीका ठूलो छोरा सामाजिक न्यायका अभियान्ता रामकुमार भण्डारीले दोषीलाई सार्वजनिक गरेरमात्रै नभई कानुनी कारबाही गर्न माग गर्नुभएको छ । उनीहरुलाई कानुनी कारबाही गरिएमात्र पीडितले न्याय पाउने उहाँले बताउनुभयो । राष्ट्रिय मानवअधिकार आयोगले मानवअधिकार उल्लंघनकर्ता भनेर तयार पारेको २ सय ८६ जनाको सूचीमा लमजुङका तेजबहादुर भण्डारीलाई पक्राउ गरी बेपत्ता बनाएर हत्या गरेका आरोपीहरुको नाम उल्लेख छ ।
भण्डारी जस्तै देशभर हजारौं बेपत्ताको सुचिमा छन् तर उनीहरूको अहिलेसम्म केही अतोपत्तो समेत छैन् ।
पुष्पकमल दाहाल,बाबुराम भट्टराई पटकपटक सरकारको नेतृत्व गरेका छन् तर शान्ति सम्झौता भएको यतिका बर्षसम्म बेपत्ताको स्थितिबारे कसैले चासो देखाएका छैनन् ।