वालिङ—१६, पौष,
वालिङ उद्योग वाणिज्य संघले थप कर्जामा रोक्का प्रक्रिया सहजीकरण गरी सेवाग्राहीमैत्री कार्यालयको रुपमा स्थापित हुँन मालपोत कार्यालय वालिङ्लाई ज्ञापनपत्र मार्फतअनुरोध गरेको छ । यस सम्बन्धमा वाणिज्य संघले भुमि व्यवस्थापन तथा अभिलेख विभागलाई समेत बोधार्थ उल्लेख गरी मालपोत कार्यालय वालिङलाई एक अनुरोध पत्र बुझाएको हो ।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य एवम् वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडेल, संघका महासचिव केशरबहादुर खाँण (ध्रुब) को अगुवाइमा मालपोत कार्यलय पुगेको टोलीले ध्यानाकर्षण जनाएको हो । उनीहरू संगै संघका कार्यकारी सचिव बाबुराम रेग्मी, प्रेस युनियन स्याङ्जाको निर्वतमान सभापति श्रीकृष्ण सिग्देल, फूलबारी बचत तथा ऋण सहकारी संस्थाका प्रबन्धक सञ्जय पौडेलसहितको टोलीले मालपोत कार्यालयका प्रमुख रविन अधिकारीलाई उक्त अनुरोध पत्र बुझाएको हो ।
कोभिडले थला परेका उधोगी व्यवसायीलाई सहजीकरण होस् र व्यवसायीक वातावरण होस् भन्ने उदेश्यले पहल गरिएको नवनिर्वाचित केन्द्रीय सदस्य तथा संघका अध्यक्ष शोभाकान्त पौडेलले अनखबरलाई बताए ।
बैंक तथा वित्तीय संस्थाहरुबाट गरिएको लगानीमा थप कर्जाको ब्यवस्था गर्नुपर्ने भएमा मालपोत कार्यालयबाट थप कर्जा रोक्काको व्यवस्था नहुँदा उद्योगी ब्यवसायीहरु ऋणमाथि थप ऋण खोजी बैंकको हिसाब मिलान गर्ने अवस्था सृजना भएको भन्दै संघले यस्तो अनुरोध गरेको हो । मालपोतबाट फुकुवा एवम् पुनः धीतो बन्धक गर्नुपर्ने तथा धितो बन्धकमा दोहोरो राजश्व तिर्नुपर्ने बाध्यात्मक अवस्थाका कारण कर्जा थपमा धितो रोक्काको व्यवस्था एवम् अन्य विविध विषयहरुमा समेत सेवाग्राहीमैत्री नभएको जस्ता बिषयहरुमा सहजीकरणका लागि समेत छलफल भएको संघका अध्यक्ष पौडेलले बताए । मालपोत प्रमुख अधिकारीले यस बिषयमा पहिला पनि विभागमा पत्र पठाईसकेको र छिट्टै नै यसको लागि थप पहल गर्ने बताए । साथै मालपोत कार्यालयबाट भएका सेवा प्रवाहका बिषयमा छलफल गरिएको छ ।