अनखबर . बुटवल
कोभिड १९ विरुद्धको खोप अभियान लुम्बिनी प्रदेशमा पनि बुधबारबाट सुरु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालमा प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलको उपस्थितीमा खोप अभियान सुरु गरिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुरु गरेसँगै सबै प्रदेशमा अभियान सुरु गरिएको हो ।

लुम्बिनीमा ३९ हजार ४ सय ९५ जनालाई खोप दिईने छ भने हालसम्म पहिलो चरणको लागी ८ हजार ७ सय ६८ भयल भ्याक्सिन प्रदेशमा आईसकेको छ । अभियानलाई दुई चरणमा वितरण गरिने छ जसमध्ये प्रदेशका तराईका ६ जिल्लामा माघ १४ अर्थात आजैदेखी ३० हजार ८ सय जनालाई दिईनेछ जसको लागी हरेक जिल्लामा १ खोपकेन्द्रको स्थापना गरिएको छ भने बाकीँ केही ठाउँमा आवश्यकताबमोजिम खोप केन्द्र निर्माण गरिएको सामाजिक विकास मन्त्रालयले बताएको छ । यस्तै दोस्रो चरणमा पहाडका ६ जिल्लाहरुमा माघ १७ गतेदेखी भ्याक्सिन दिन सुरु गरिनेछ । दोस्रो चरणमा ८ हजार ६ सय ९५ जनालाई खोप दिईने तयारी गरिएको छ । जसमा ७ वटा खोपकेन्द्र निर्धारण भैसकेको छ । त्यसमा कमी हुने देखिएमा थप ५ अस्पतालहरुमा खोप केन्द्र संचालन गरिनेछ । प्रत्येक खोप केन्द्रमा तालिम प्राप्त एक जना चिकित्सक सहित ३ जना स्वास्थ्यकर्मी रहनेछन भने स्वास्थ्य जोखिम व्यवस्थापनको लागी सम्बन्धित अस्पतालमा चिकित्सक समुहको व्यवस्था गरिनेछ ।

खोपको प्राथमिकतामा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, फोहोरमैला व्यवस्थापनमा खटिने कर्मचारी, ७० बर्षमाथिका जेष्ठ नागरिक, एम्बुलेन्स चालकहरु, स्वंयमसेवक कर्मचारी, अन्तराष्ट्रिय प्रवेश विन्दुमा कार्यरत कर्मचारी, महिला कर्मचारी, जेलका कैदी लगायतलाई पहिलो चरणमा खोप लगाईने जनाएको छ ।