अनखबर
संयुक्त रणनीतिक मोर्चाद्धारा बुटवलमा आयोजित जनसभालाई सम्बोधन गर्न आएका विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता भेसराज भुसाललाई तत्काल रिहा गर्न रणनैतिक मोर्चाले माग गरेको छ । गत विहिबार बुटवलको ट्राफिकचोकमा चार दलीय रणनीतिक मोर्चाको विशाल जनसभालाई सम्बोधन गरेर फर्किने क्रममा भुषाल पक्राउ परेका थिए ।

सरकारको फासीवादी निरंकुशता र गैरकानुनी कदमको कडा विरोध गर्दै मोर्चाले एक विज्ञप्ती मार्फत तत्काल रिहाई गर्न माग गरेको छ । बुटवलमा एक पत्रकार सम्मेलन गर्दै मोर्चाका केन्द्रिय सदस्य ऋषिराम शर्मा कट्टेलले व्यक्ति स्वतन्त्रतापूर्वक आफ्नो अभिव्यक्ती राख्न समेत नदिएको भन्दै सरकारको यस्तो कदमले देशलाई अर्को युद्ध निम्त्याउने बताए । यस्तै कार्यक्रममा अर्का केन्द्रिय सदस्य रामसिंह श्रीसले क्रान्तिकारीहरुको एकताबाट सरकार तर्सिएको भन्दै सरकारको हतास मानसिकताको उपज रहेको बताएका थिए । केही कार्यनितिमा मात्रै मोर्चागत हुँदै आएका पार्टीहरुले यो सरकारको विकल्पमा संयुक्त सरकार गठन गर्ने र पार्टी एकतासम्म पुग्ने उद्देश्यसहित केही समय अगाडी ४ वटा कम्युनिष्ट पार्टीले एकता गरेका थिए ।

पत्रकार सम्मेलन लगत्तै भैरहवामा राखिएका नेता भुषाल र उनीसँगै पक्राउ परेका देबबहादुर केसीको अवस्था बुझ्न रणनैतिक मोर्चाका केन्द्रिय सदस्य, मानवअधिकारकर्मी, वकिल र पत्रकारको समुह जिल्ला प्रहरी कार्यालय भैरहवमा पुग्दा त्यहाँ भुषाल नरहेको भन्देै प्रहरी प्रमुख एसपी प्रविन पोख्रेलले भुषालका देशभर ५ बटा मुद्दा रहेको र उनलाई काठमाडौं पठाईएको जानकारी दिएका छन् । काठमाडौं कहाँ राखिएको भन्नेबारे प्रहरी स्रोतले परिवारलाई समेत जानकारी नदिएको पारिवारिक स्रोतले बताएको छ । राज्यसत्ताले नेकपामाथि प्रतिबन्ध लगाउँदै नेकपाका नेता तथा कार्यकताहरूलाई जेल र हिरासतमा राख्दै आएको छ । नेकपाका शीर्ष नेता धर्मेद्र बास्तोला, माइला लामा, ओम प्रकाश पुन, विरगन्ज लगायतका नेताहरू जेलमा छन ।