अनखबर/स्याङ्जा
वालिङ उद्योग वाणिज्य संघको आतिथ्यतामा स्याङ्जा जिल्लाका विभिन्न उद्योग वाणिज्य संघहरुका अध्यक्ष एवम् प्रतिनिधिहरुको बैठक सम्पन्न भएको छ । बैठकमा जिल्ला भित्र तथा यस क्षेत्रमा उद्योग ब्यापार ब्यवसाय सञ्चालनका क्रममा देखा परेका विभिन्न ब्यवसायिक समस्याहरुको बारेमा घनीभूत रुपमा छलफल तथा अन्तरक्रिया भएको छ ।
छलफलका क्रममा ब्यवसायिक क्षेत्रमा देखिएका विभिन्न समस्याहरु जस्तैः न्युन बिजकीकरणबाट उत्पन्न समस्या, सिद्धार्थ राजमार्गको राम्दी पुलको क्षमता वृद्धि वा वैकल्पिक पुल निर्माण गर्नुपर्ने, बैंकको ब्याजदर सिंगल डिजिटको हुनुपर्ने, पहाडी क्षेत्रका वितरक तथा होलसेलरहरुलाई भीसीटीएस (VCTS) अनिवार्य गरिनु नहुने, कर, अन्तःशुल्क, घरेलु नवीकरण लगायतका सेवामा एस.एम.एस. सेवा हुनुपर्ने, कर तिरेको आधारमा सामाजिक सुरक्षाको ब्यवस्था मिलाउनुपर्ने, सबै खाले आय आर्जन गरेका ब्यक्तिहरुलाई समानुपातिक रुपमा करको दायरामा ल्याउनुपर्ने, घरबहालको दररेट तथा सम्झौता प्रक्रियामा स्पष्ट र समानुपातिक नीति लागु गरिनुपर्ने, घरबहाल वृद्धि गर्दा मनोमानी नभई एक मापदण्ड तोकिनुपर्ने, साना तथा खुद्रा ब्यवसायीले महासंघको अनुभूति गर्न सक्ने खालका गतिविधि महासंघबाट हुनुपर्ने, भारतीय मुलका घुम्ती ब्यापारीहरुलाई अनिवार्य रुपमा करको दायरामा ल्याउनुपर्ने लगायतका बिषयहरु मुख्य रुपमा उठेका थिए । त्यसैगरी करको दायरामा सबै ब्यापारीहरुलाई अनिवार्य रुपमा ल्याउनका लागि नीति मात्र भएर नहुने स्थलगत रुपमा अध्ययन गरेर सहजीकरण गर्नुपर्ने, छापामार शैलीको अनुगमन प्रणालीलाई परिमार्जन गरी सहज ब्यापक बनाउनुपर्ने, तथा उद्योग वाणिज्य संघहरुले पनि सबै ब्यवसायीहरुलाई अनिवार्य दर्ता प्रक्रियामा ल्याउनुपर्ने जस्ता बिषयहरुमा छलफल गरी विभिन्न निर्णयहरु समेत गरेको छ ।
इ
सो अवसरमा वालिङ वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य शोभाकान्त पौडेलले जिल्लाभित्रका सबै उद्योग वाणिज्य संघहरुलाई एक ठाउँमा राखी ब्यवसायिक समस्याहरुको बारेमा एक मना एकताकासाथ एउटै धारणा बनाउने र विभिन्न समस्याहरुलाई सामुहिक पहलद्वारा समाधान खोज्ने उद्देश्यले यस्तो कार्यको शुरुवात गत २०७६ असारमा कोभिड–१९ तथा लकडाउनबाट ब्यवसायिक क्षेत्र थला परेको बेलामा वालिङबाट थालनी गरिएको र यो दोस्रो बैठकको रुपमा भएको बताउनुभएको छ । पौडेलले यस बैठकबाट निकालिएको निष्कर्षलाई नै आसन्न नेपाल उद्योग वाणिज्य महासंघको बैठकमा प्रस्तुत एवम् छलफल गर्ने तथा स्थानीय र प्रदेश सरकारबाट सम्बोधन हुने खालका समस्याहरुलाई तत् तत् निकायसँग आवश्यक पैरवी गर्ने बताउनुभएको छ । जिल्लाका विभिन्न उद्योग वाणिज्य संघका अध्यक्षहरुबाट यस किसिमको बैठक आगामी दिनमा हरेक ३/३ महिनामा क्रमशः सबै उद्योग वाणिज्य संघले आतिथ्य गरी आयोजना गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।
वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य शोभाकान्त पौडेलको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघ, भिरकोट उद्योग वाणिज्य संघ, गल्याङ उद्योग वाणिज्य संघ र वालिङ उद्योग वाणिज्य संघबाट अध्यक्षज्यूहरु, सल्लाहकार, पदाधिकारी तथा सदस्यहरुको सक्रिय उपस्थिति रहेको थियो भने कार्यक्रमको सञ्चालन संघका महासचिव केशरबहादुर खाँण (ध्रुब) ले गर्नुभएको थियो ।