अनखबर
बुटवल ।
व्यापक विवादको विषय बनेको मोतिपूर औद्योगिक क्षेत्रमा रातारात सुकुम्बासीहरु आएर जग्गा कब्जा गर्न थालेका छन् । केही समय अगाडी व्यापक विवादका विच शिलन्यास भएको सो क्षेत्रमा त्यहाँका स्थानीयहरुले औद्योगिक क्षेत्र बन्न नदिने भन्दै विरोध गरेका थिए । अर्थमन्त्री विष्णु पौडेल र आपूर्तीमन्त्री लेखराज भट्टले संयुक्त रुपमा गरेको शिलन्यासलाई केही समयमै स्थानीयले भत्काईदिएर ढुंगामुडा समेत गरेका थिए ।
सोही क्षेत्रमा निर्माणलाई प्रत्यक्ष प्रभावित पार्नेगरी हिजो दिउसोदेखी सुकुम्बासीहरुले चुना, डोरी, ढु्ंगा बाकी आफ्नो जग्गा रहेको भन्दै घेराबन्दी गरेर बस्न थालेका छन्, दिउसो आएकाहरुलाई प्रहरी प्रशासनले हटाएपनि राती फेरी ठूलो जत्था आएर बसेको देखिन्छ ।
तर गयरातिदेखी पुन सयौंको संख्यामा पुगेर आफुहरु जग्गा पाईन्छ भनेर आएको यमकुमारी गाहले बताइन् । मजदुरी गर्ने क्रममा सुनेर आएको उनिहरुले प्रतिक्रिया दिए । कसले बोलायो भन्ने बिषयमाकेही नबोली सुनेर आएको उनिहरुको भनाई छ ।
यता बुटवल औद्योगिक क्षेत्र उद्योग संघका अध्यक्ष हिरामणी भट्टराई भने यो विषयमा कुनै जानकारी नै नभएको तर्क गर्छन्। उनले सत्यतथ्य छानबिन गरिने बताए । बुटवल औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका कार्यालय प्रमुख निमेश अधिकारीले मोतिपुरमा बसिरहेका र संघर्ष गरिरहेका नभई अन्यत्रबाट आएर कब्जा गर्न खोजेको बताउँछन् । उनले भने ” हामीले हिजो बिहान आएर कब्जा गर्दैछन भन्ने थाहा पाएर प्रशासनलाई खबर गर्यौ प्रशासनले सम्झाईबुझाई गरि फर्कायो, फेरि रातिदेखी आएर बसेको खबर आएको छ, हामी प्रशासन सङै गएर ब्यवस्थापन गर्छौ ।”

कार्याल प्रमुख अधिकारीले संघर्ष समिती संग नियमित सम्पर्कमा रहेको बताउँदै उनले सरकारी जग्गा कब्जा गर्नु गलत भएको बताए । यता रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले सरकारी जग्गा कुनैपनि हालतमा कब्जा हुन नदिने बताए । उनले अहिलेको अवस्थामा पनि सुकुम्बासीको नाममा जग्गा कब्जा गर्नु गलत भएको बताउदै उनले मोतिपुर औधोगिक क्षेत्रजस्तो महत्वपूर्ण क्षेत्र बन्नलागेकोले सबैले यसलाई सहयोग गर्नुपर्ने बताए । उनले आएका ब्यक्तिहरुलाइ तत्कालको लागि सम्झाई बुझाई गरेर फर्काउने बताए ।नयाँगाउँ , बेलवास, गोलपार्क, बुद्धनगर,मजुवा,दिपनगर लगायतका ठाउँबाट आएकाहरुले मोतिपुर करिडोरको बि ब्लकको जग्गामा चुना र डोरिले घेरा हालेर प्लटिङ गरेका छन्।
यता आयोजनाका पक्षधरहरुले भने विपक्षहरुले जग्गा कब्जा गर्नको लागी यस्तो रणनीति अगाडी सारेको आरोप लगाएका छन भने विपक्षहरुले सुकुम्बासी जग्गामा सुकुम्बासी आएर बस्नु उनीहरुको अधिकारको कुरा भएको जनाएका छन्, राजनीतिक लडाईको रुपमा लिईएको यो पछिल्लो जग्गा विवादले फेरी औद्योगीक क्षेत्रलाई एकपटक चर्चामा ल्याएको छ ।