२४ वैशाख, भैरहवा ।
रुपन्देही जिल्लाको जिल्ला अस्पताल भीम अस्पतालले अक्सिजनको अभाव नभएको जनाएको छ । गत विहिबार कोरोना संक्रमितलाई ‘अक्सिजन पुर्‍याउन सक्दैनौं, आफैं जोहो गर्नू’ भनेपछि आलोचित बनेको भैरहवाको भीम अस्पतालले फेरि अर्को विज्ञप्ति जारी गरेर अस्पतालमा अक्सिजन अभाव नरहेको जनाएको हो ।

शुक्रबार दिउँसो अस्पतालका नाममा प्रकाशित विज्ञप्तिमा भर्ना भएका कोरोना संक्रमित विरामीलाई अक्सिजन पुर्याउन नसकिने भएकाले सोही अनुसार व्यवस्था गर्न भनिएको थियो ।उक्त विज्ञप्ति प्रकाशित गर्नु अस्पतालको गैरजिम्मेवारीको पराकाष्ठा भन्दै चौतर्फी आलोचना भएपछि अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा। शकुन्तला गुप्ताले शुक्रबार राति नै अर्को विज्ञप्ति जारी गर्दै अक्सिजन अभाव नभएको जनाएकी हुन् । डा. गुप्ताले अस्पताल प्रशासनलाई जानकारी नदिई शुक्रबार दिउँसो प्रकाशित सूचनाप्रति आफ्नो ध्यानाकर्षण भएको उल्लेख गर्दै उक्त विज्ञप्तिमा कुनै सत्यता नरहेको उल्लेख गरेकी छन् । ‘अस्पतालमा अक्सिजन ग्यासको अभाव नरहेको सम्बन्धमा सबैमा जानकारीको लागि अनुरोध छ,’ विज्ञप्तिमा भनिएको छ । मेसु गुप्ताले आफूलाई नसोधी निकालिएको विज्ञप्ति गम्भीर त्रुटी भएको र यसले अस्पतालको बद्नाम गराएकाले यसबारे सम्बन्धित कर्मचारीलाई राखेर छानबिन गरी दोषीलाई कारवाही गर्ने अनलाइनखबरलाई बताइन् ।

कोरोना संक्रमितको संख्या अत्यधीक बढेकाले अक्सिजन अभावको समस्या भीम अस्पतालमा मात्र नभई सबै अस्पतालको भएको मेसु गुप्ताले बताइन् । अस्पताल आएका संक्रमितले उपचार पाउन् भन्ने उद्देश्यले २५ बेड एचडीयू र ५ बेड आईसीयू भएपनि अन्तरंग विभाग र भुईमा म्याट्रेस राखेर अस्पतालले ७० जना भर्ना गरेर उपचार सेवा दिइरहेको गुप्ताले बताइन् । उनले अस्पतालमा दैनिक २ सय बढी सिलिण्डर अक्सिजन खपत भइरहेको र यो मात्रा अझै बढ्ने बताइन् ।

माग अनुसार अक्सिजनको नियमित आपूर्तिको सुनिश्चितता नभए पनि विभिन्न सामाजिक संघसंस्थाको सहयोगमा भर्ना भएका विरामीलाई अक्सिजन अभाव हुन नदिइएको उनले बताइन् । अस्पतालको माथिल्लो तलामा अक्सिजन पाइपलाइन विस्तार र लिक्विड अक्सिजन प्लान्ट स्थापनाका लागि सम्बन्धित मन्त्रालयमा कुरा भइरहेको र तयो भएमा थप ३५ जना समेत गरी कूल सय जना कोरोना संक्रमितलाई उपचार दिन सकिने डा.गुप्ताले बताइन् ।

अस्पतालका सूचना अधिकारी डा. नारायण पोखरेलले भने मेसुसहित सम्बन्धित चिकित्सकसँग छलफल र सल्लाह गरेर नै अक्सिजन पु¥याउन नसकिने विज्ञप्ति जारी गरेको बताए ।