साउन,२ कपिलवस्तु । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी कपिलवस्तु र अर्घाखाँचीको संयुक्त आयोजनामा कपिलवस्तुमा ५ दिने स्कुलिङ कार्यक्रमको उद्घाटन भएको छ ।

स्कुलिङ कार्यक्रमको उद्घाटन गर्दै नेकपाका केन्द्रीय सदस्य एवं केन्द्रीय स्कुल विभागका प्रमुख ध्रुवले समाजको निर्माण विश्वदृष्टिकोण, उत्पादन प्रणाली र राज्यसत्ता मिलेर बन्ने भन्दै यसको रुपान्तरणका लागी कम्युनिस्ट स्कुल आवश्यक रहेको बताए । उनले प्रतिबन्धपछि पार्टी स्कुल सञ्चालनले पार्टीमा थपिएको नयाँ जिम्मेवारीलाई पुरा गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउदै पार्टीले विकास गरेको नयाँ कार्यनीतिबारे सैद्धान्तिक स्पष्ट गरिने बताए । उनले पार्टीमा भर्ना भएका नयाँ पार्टी सदस्यहरुलाई समेत स्कुलिङ चलाइने समेत बताए । कार्यक्रमबारे बोल्दै नेकपाका वैकल्पिक केन्द्रीय सदस्य एवं कपिलवस्तु तथा अर्घाखाँची जिल्ला इन्चार्ज जुझारुले पार्टी नेता कार्यकर्ताको दृष्टिकोण निर्माण, पार्टी कार्यदिशा र नयाँ कार्यनीतिबारे, संगठन निर्माण एवं कम्युनिस्ट पार्टी निर्माणबारे एकरुपता र वैचारिक क्षमता विकासका लागी पार्टीले स्कुलिङ कार्यक्रम आयोजना गरिएको बताए ।

स्कुलिङ कार्यक्रमको अध्यक्षता कपिलवस्तु जिल्ला सेक्रेटरी कमल,स्वागत थारु मुक्ति मोर्चाका केन्द्रीय अध्यक्ष सुनिल थारु र अर्घाखाँची जिल्ला सेक्रेटरी खेम घर्ती माहुरीको सञ्चालनमा सम्पन्न भएको थियो । शनिबारदेखि सुरु भएको स्कुलिङ कार्यक्रम ५ दिनसम्म सञ्चालन हुने नेकपाले बताएको छ ।