काठमाडौँ ।महालेखाका कर्मचारीहरुले सरकारी कार्यालयमा लेखापरीक्षण गर्ने क्रममा कसरी घुसको बार्गेनिङ गर्छन भन्ने तथ्य पछिल्लो समय उदाङ्गो हुदै गएको छ ।
अन्य सरकारी कार्यालयको खर्च अनुशासन जाँच गर्ने निकाय नै सबैभन्दा भ्रष्ट रहेको पुष्टि हुने गरी महालेखाका कर्मचारीहरुले घुस असुली गर्ने गरेको तथ्य फेला परेको हो ।तथ्यांकले महालेखाले सार्वजनिक लेखापरीक्षण प्रणालीलाई किन अस्वीकार ग¥यो भन्ने समेत प्रष्ट संकेत गरेको छ । सरकारी कार्यालयसँग घुस बार्गेनिङ्ग गर्ने बहादुर लेखापरीक्षण गर्ने अधिकारीहरुमध्ये अर्का एक हुन् निर्देशक पशुपति काफ्ले । काफ्ले नेतृत्वको टोलीले यस पटक रुपन्देशी र कपिलवस्तुमा पुगेर संघीय कार्यालयहरुको लेखापरीक्षण गरेको थियो । बुटवलस्थित सरकारी अतिथि गृहमा बसेर लेखापरीक्षण गरेको थियो । उक्त समयमा निर्देशक रामप्रसाद उपाध्यायको टोली र रामेश ढकाल नेतृत्वको टोली पनि बुटवलमै थियो ।
उपाध्याय र ढकाल नेतृत्व टोलीले लेखापरीक्षणमा गरेको त्रृर्टी र गडबढी अर्को समाचारमा प्रकाशित हुनेछ । काफ्ले नेतृत्वको टोलीले बुटवल बस्दाको सम्पूर्ण खर्च लेखापरीक्षण गरेका कार्यालयहरुलाई खर्च गर्न लगाएर फर्किएको थियो । सो टोलीले कम्तिमा ८ लाख रुपैयाँ घुस संकलन गरेर फर्किएको स्रोतको दावी छ ।
रुपन्देहीको लेखापरीक्षण सकेर काफ्ले टोली कपिलवस्तु पुग्यो । कपिलवस्तुमा काफ्ले नेतृत्वमा लेखापरीक्षण अधिकारीद्धय शैलेन्द्रकुमार प्रसाई र डोरमणि घिमिरे थिए ।
लेखापरीक्षणको सामान्य सिद्धान्त विपरित सो टोलीले त्यहाँ बस्दाको खानपानको सबै खर्च लेखा परीक्षण गरेका कार्यालयबाट असुल ग¥यो । र लेखापरीक्षणका क्रममा देखिएका कैफियत उल्लेख नगर्ने शर्तमा मोलमोलाई गरेका थिए । मोलमोलाईमा काफ्ले नेतृत्वको टिमले जिल्ला प्रहरी कार्यालयबाट ५० हजार रुपैयाँ, प्रत्येक इलाका प्रहरी कार्यालयबाट ३० हजार रुपैयाँका दरले घुस संकलन गरेका थिए ।
यस्तै टोलीले गोरुसिंगेस्थित नारायण दल गणबाट १ लाख रुपैयाँ घुस रकम लिएर फर्किएको हो । लेखा परीक्षण गरेका हरेक कार्यालयबाट आर्थिक अपचलनका विषय लुकाएवापत ३० हजारदेखि १ लाख ५० हजार रुपैयाँसम्म लिएर काफ्ले नेतृत्वको टोली काठमाडौँ फर्किएको थियो ।
यही टोलीले संखुवासभाको संघीय कार्यालयको पनि लेखापरीक्षण गरेको थियो । उक्त टोलीले माघ २५ गतेदेखि फागुन २६ गतेसम्म तुम्लिङटारस्थित डिभिजन सडक कार्यालयको गेष्ट हाउसमा बसेर विभिन्न कार्यालयको लेखा परीक्षण गरेको थियो । गेष्ट हाउसमा बस्दाको खानपान लेखापरीक्षण गरिएका कार्यालयहरुले व्यहोरेका थिए ।
सो क्रममा लेखापरीक्षणमा देखिएको आर्थिक कैफियत लुकाउन टोली प्रमुख काफ्लेले मोलमोलाई शुरु गरे । उनले जिल्लास्थित सरकारी वकिल कार्यालयबाट ५० हजार रुपैयाँ, जिल्ला मालपोत कार्यालयबाट ४० हजार रुपैयाँ घुस लिएका थिए । सो टोलीले संखुवासभामा लेखापरीक्षण गरेका अन्य कार्यालयहरुबाट पनि बेरुजु अंकअनुसार घुस लिएर काठमाडौ फर्किएको हो ।
स्रोत-नेपाल वाच