हेमन्त वली । दाङ
नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिती दाङले जिल्लाको लमही नगरपालिका वडा नं।३ जखेरा टिकुलीगढ सुकुमबासी बस्तीमा बसोबास गर्ने रुकमान चौधरीको घर निर्माण कार्यको शिलान्यास गरेको छ ।बस्तीमा बस्ने रुकमान चौधरी बसिरहेको तत्कालको घर अत्यन्त जीर्ण अवस्थामा पुगेको भन्दै नयाँ घर निर्माण गर्न लागिएको नेकपा दाङले जनाएको छ ।घर निर्माण शिलान्यास कार्यक्रमका प्रमुख अतिथि नेकपा दाङ जिल्ला विशेष कमिटी सदस्य बिक्रमले समाजलाई सामूहिक चेतनाको विकास गर्दै वैज्ञानिक समाजवादी मोडेल अनुसार पार्टीले जनताका घर–टहरा निर्माण गर्ने अभियानमा लागेको बताउए । वैज्ञानिक समाजवादी राज्यव्यवस्था जनताको ,गाँस, बाँस, कपास, शिक्षा, स्वास्थ्य, रोजगारको ग्यारेन्टी गर्ने व्यवस्था भएको उनको भनाइ थियो । नेता बिक्रमले संसदीय व्यवस्थाको चुनावमा भाग लिन्छन् भन्ने भ्रम मात्रै भएको जिकिर गरे । उनले भने, ‘हामी जनमत संग्रहको व्यवस्था चुन्ने निर्वाचनमा भाग लिन्छौँ, संसदीय व्यवस्थाको व्यक्ति र पार्टी चुन्ने चुनाव होइन ।’ उनले संसदीय व्यवस्था भनेको शासकहरुले जनतामाथि शोषण, दमन, लुटपाट गर्ने साधन भएको धारणा राखे ।कार्यक्रममा नेकपा दाङ जिल्ला सेक्रेटरी प्रदीपले आफूहरु नयाँ ढंगले एकीकृत जनक्रान्तिको कार्यदिशालाई अवलम्बन गर्दै वैज्ञानिक समाजवाद प्राप्तिको दिशामा दृढ रहेको धारणा व्यक्त गरे । उनले आफूहरुले संचालन गरेको क्रान्तिबाट अत्तालिएर दलाल सरकारले प्रतिबन्ध लगाएको ठोकुवा गरे ।एक फरक प्रसङ्गमा सेक्रेटरी प्रदीपले आफूहरु प्रचण्डले जस्तो झुक्याएर राजनीति नगर्ने बताए । उनले भने, ‘हामी इमानदारी पूर्वक वैज्ञानिक समाजवाद प्राप्तिको दिशामा छौँ । जनमत संग्रहको एजेन्डा लिएर तपाईहरुसंग छलफल गर्दैछौँ ।’ उनले सुकुम्बासी बस्तीमा बसोबास गर्ने जनताहरु र आफ्नो पार्टीबीच नङ र मासुको सम्बन्ध भएको बताउदै कसैले सुकुम्बासी बस्ती हटाएर जनतालाई बिचल्लीमा पार्ने दुस्साहस नगर्न अपिल गरे ।घरको शिलान्यास निर्माण स्थलमा इट्टा राखेर कार्यक्रमका प्रमुख अतिथी तथा नेकपा दाङ जिल्ला विशेष कमिटी सदस्य बिक्रमले गरेका थिए । कार्यक्रममा नेकपा दाङ जिल्ला सदस्य डिल्ली, एकराज, नेकपा दाङ जिल्ला सल्लाहकार समितिका सदस्य द्वोय सौनी र मधुसुदनको आतिथ्य रहेको थियो ।पार्टी जिल्ला कमिटी सदस्य डिल्लीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन तथा अध्यक्षता नेकपा लमही नगर इन्चार्ज जनकले गरेका थिए ।