गलकोट-१०
बागलुङ र पर्वत जिल्ला जोड्ने गरी निर्माण गरिएको नेपालकै लामो झोलुङ्गे पुलमा आन्तरिक पर्यटकको चहलपहल पुनः शुरु भएको छ । लामो समयको निषेधाज्ञा र निरन्तरको बर्सातका कारण घरमै थुनिएका आन्तरिक पर्यटकले पुलवरपरको क्षेत्र भभिराउन हुन थालेको छ।
कालीगण्डकी नदीमाथि निर्माण गरिएको ५६७ मिटर लामो झोलुङ्गे पुल नेपालकै लामो हो । पुल व्यवस्थापनको जिम्मा पाएको बागलुङ नगरपालिकाले उक्त पुल विश्वकै लामो भएको दाबी गर्दै गिनिजबुकमा नाम लेखाउन निवेदनसमेत दिइसकेको छ ।
गण्डकी प्रदेशको उत्कृष्ट धार्मिक पर्यटकीय क्षेत्र कालिका मन्दिर नजिकै २५ रोपनी क्षेत्रफलमा फैलिएको सुन्दर शहीद उद्यानभित्रबाट पर्वतको कुश्मा नगरपालिका–१ अदुवाबारी जोड्ने पुलमा अहिले आन्तरिक पर्यटकको भीड नै लाग्ने गरेको छ । कोरोनाको पहिलो लहरपछि सर्वसाधारणका लागि खुला गरिएको उक्त पुल दोस्रो लहरमा बन्द थियो ।
अत्यावश्यक कामबाहेक पर्यटकका लागि बन्द गरिएको पुल निषेधाज्ञा खुकुलो भएसँगै पर्यटकको चहलपहल पुनः बढ्न थालको छ ।
निषेधाज्ञाले घर र कार्यालयमा मात्रै सीमित बागलुङ बजारका अमिट कार्की एक हप्तादेखि साँझपख लामो पुलमा घुम्न आउने गरेको बताउछन् ।
अहिले बागलुङ बजारवासी पुल तरेर पर्वतको कुश्मा–१ अदुवाबारीमा घुम्न जाने, रेष्टुराँमा खाजा खाने र कालीगण्डकी किनारामा रमाउने गर्न थालेका हुन् । अदुवाबारीमा रहेका आधा दर्जन रेष्टुराँ तथा पसल पर्यटकले भरिभराउ हुने गरेका छन् ।
कोरोना जोखिम कायमै रहेको हुँदा पुलमा बागलुङ र पर्वत बाहिरका पर्यटक भने खासै आउने गरेका छैनन् ।
कोरोनाका कारण घरभित्रै सीमित रहेका बागलुङ र पर्वतवासी निषेधाज्ञा खुकुलो भएसँगै पुलमा घुम्न आउन थालेपछि सुरक्षाका लागि प्रहरीसमेत तैनाथ गरिएको छ ।
गर्मी मौसममा साँझपख कालीगण्डकी नदीमाथिको पुलमा चिसो हावा खान आउने गरेको आन्तरिक पर्यटक सुमन सुवेदीले बताए ।
पुल निर्माण गर्दा अस्तव्यस्त बनेको शहीद उद्यान बागलुङ नगरपालिका र वन विभागको साझेदारीमा सौन्दर्य अभिवृद्धि गरेपछि उद्यानमा समेत पर्यटक बढ्न थालेका छन् ।