काठमाडौं-११ ।
केही दिनदेखि कमजोर रहेको मनसुन सोमबारदेखि पुनः सक्रिय हुने भएको छ । मनसुनी सक्रियतासँगै देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

मनसुन न्यूनचापीय रेखा विस्तारै नेपालको तराई भू-भाग नजिक आउने क्रम सुरु भएकाले सोमबारदेखि मनसुन सक्रिय भई देशका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको मौसमविद्हरुले बतााएका छन ।

आज देशभर सामान्यतया बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ ।

जल तथा मौसम विज्ञान विभागले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै देशभर केही स्थानमा हल्कादेखि मध्यम वर्षा तथा बाग्मती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको समेत जनाएको छ ।

विभागले पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनसमेत अनुरोध गरेको छ ।