भैरहवा-११
नेपालबाट भारत पुगेका चार जना बालबालिकाहरुको उद्दार गरिएको छ । प्रवासी नेपाली मित्र मञ्च, भारत तथा मानव कल्याण मित्र मञ्च नेपालले तीनजना बालक र एकजना बालिकाको उद्दार गरेको हो । बाँकेको कोहलपुर नगरपालिका-४ बेलनपुरका ९ वर्षिय रोशन वादी, ७ वर्षिय विशाल वादी, ५ वर्षिय पूजा वादी र बैतडीको पाटन नगरपालिका-४ वस्तीका १५ वर्षिय प्रकाशसिंह महरा (नरेश) लाई उद्दार गरेर नेपाल ल्याइएको मानव कल्याण मित्र मञ्च तिलोत्तमा-२, रुपन्देहीका अध्यक्ष दुर्गा प्रसाद अर्यालले बताए ।

उद्दार गरिएका कोहलपुरका बालबालिकाहरुलाई जिल्ला प्रशासन कार्यालय, रुपन्देहीको रोहबरमा कोहलपुर-४ का वडाअध्यक्ष तिरथराम थारु र बैतडीका बालकलाई अभिभावक नआउँदासम्म तिलोत्तमा-१५ कोटिहवास्थित नेपाल अविनाश अनाथ आश्रममा राखिने अर्यालले जानकारी दिए ।

प्रवासी नेपाली मित्र मञ्च भारतका महासचिव रघुनाथ पाण्डेका अनुसार नेपालबाट भारत गएका बालबालिकाहरुलाई उत्तरप्रदेशको बरेली अनाथ आश्रममा राखिएको थियो ।
आश्रममा रहेका बालबालिकाहरुबारे आफूले पत्रिकामा समाचार पढेपछि उनीहरुको उद्दारमा लागेको पाण्डेले बताए । ‘नयाँ दिल्लीस्थित नेपाली राजदुतावासबाट अनुमति लिएर बालबालिकाहरुको उद्दारमा लाग्यौं, बालबालिकाहरुले बेलनपुरबाहेक पुरा ठेगाना बताउन नसकेपछि पुरा ठेगाना र अभिभावकको खोजतलास गर्न प्रवासी नेपाली मित्र मञ्च, भारतको भातृ संगठन मानव कल्याण मित्र मञ्च नेपाललाई भन्यौं, ’पाण्डेले भने ।
मञ्चले हालसम्म भारतमा २ हजार बढी अलपत्र नेपाली नागरिकको उद्दार गरिसकेको उनले जानकारी दिए ।

प्रवासी नेपाली मित्र मञ्च भारत महिला विभागकी अध्यक्ष अनिता क्षेत्रीले गरीबीको कारण नेपालका बालबालिका रोजगारीको सिलसिलामा भारत पुग्ने गरेको बताइन् ।
उनले घर तथा अभिभावक छोडेर काम गर्न भनेर जाने बालबालिकालाई काम पाउन भने त्यति सहज नरहेको बताइन् । ‘घर तथा अभिभावक छोडेर बालबालिका भारत पुग्ने गरेका छन्, उनीहरुलाई त्यसरी जान नदिनका लागि जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्नुपर्छ, ’उनले भनिन् । भारतमा पुगेका बालबालिकाहरु बेचबिखनमा पर्न सक्ने जोखिम समेत रहेकोले गाउँगाउँमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने उनको भनाइ छ ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले नेपाली बालबालिकाहरुको उद्दार गरेर नेपाल ल्याउनु पुनित कार्य भएको बताए ।

उद्दार गरिएका बालक प्रकाशसिंह महरा (नरेश)ले काम गर्न भनेर पैदल हिंडेर भारत पुगेको र त्यहाँ पुगेपछि प्रहरीले आफूलाई अनाथ आश्रममा पुर्याएको बताए । ‘४-५ महिनादेखि आश्रममा बस्दै आएको थिए, ’उनले भने ।