अनखबर
हाल जेलमा रहेका प्रतिनिधिसभाका निलम्बित सदस्य तथा जसपाका कार्यकारिणी सभा सदस्य रेशम चौधरीले पार्टीको आधिकारिकता सम्बन्धी विवादमा आफू तटस्थ बसेको जानकारी दिएका छन् । जेलमा रहेको आफूलाई पक्षमा विपक्षमा हस्ताक्षर सनाखत आफ्नो नैतिकताले नदिएको बताए ।
आयोग परिसरबाट बाहिरिने क्रममा सञ्चारकर्मीलाई प्रतिक्रिया दिने क्रममा उनले भने, ‘जेलमा रहेको मलाई पक्षमा विपक्षमा सनाखत गर्न नैतिकताले दिएन । मेरो लागि पक्ष पनि जसपा विपक्षी पनि जसपा हो ।’

उनले पार्टी अध्यक्ष महन्थ ठाकुरलाई भिष्मपितामहको संज्ञा दिए । उनलाई अहिलेको अवस्थाबारे सबै थाहा हुँदाहुँदै पनि यो अवस्था हुन पुगेको बताए ।
आफू अझै पनि न्यायको पक्षमा रहेको भन्दै चौधरीले यसमा पार्टीका सबै नेताको सहयोग रहने आफ्नो अपेक्षा रहेको बताए ।
अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवसँग छुट्टाछुट्टै छलफल गरेका उनले कुनै पक्षमा सनाखत गरेनन् । तर बाहिरिने क्रममा आफ्नो मुद्दामा बोलेका छन् । राजनीतिक मुद्दाका कारण आफू जेलमा बस्नुपरेको भन्दै उनले भने, ‘मेरो मुद्दामा मेरो पार्टी कत्तिको लडिरहेको छ, त्यो उहाँहरको दृष्टिकोण होला ।’
कठघरामा उभिएर जति सत्य बकेपनि दोषी ठहर गरिएको भन्दै उनले भने, ‘श्रीमान १ न्याय देउ हामीलाई, क्षमा चाहिँदैन । दोषीलाई दण्ड देऊ, निर्दोषीलाई थुन्न पाइँदैन ।’अघि भने, ‘एक न्याय, दुई न्याय, तीन न्याय ।’
जसपाको महन्थ ठाकुर पक्षले तत्कालीन प्रधानमन्त्री केपी शर्मा आली पक्षलाई साथ दिँदा चौधरीको रिहाइलाई मुद्दा बनाएको थियो । उनी रिहा नभएसम्म सरकारमा नजाने यो समूहको अडान थियो । तर उनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकाले उनको रिहाई नेताहरुले चाहे जस्तो हसज थिएन ।
सत्तारुढ दलका नेताहरुले रिहा गर्न सम्भव नहुने भएकाले आममाफीको दिन सक्ने बताएका थिए । यसबारे कुनै टुंगो नभई जसपाको ठाकुर पक्ष सरकारमा गएको थियो । तर १९ दिनमै सरकारबाट हट्नुपर्‍यो । अब उपेन्द्र यादव पक्ष प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा जाने तयारीमा छ ।