अनखबर
काठमाडौं । नयाँ सरकार आएसँगै विगतका सरकारहरुले नियुक्त गरेका तीन जना प्रदेश प्रमुखहरुलाई पदमुक्त गर्ने भएको छ । पदमुक्त हुनेहरुमा विगत सरकारले अन्तिम अवस्थामा फेरेका तीनवटा प्रदेश प्रमुख रहने छन् ।
बालुवाटार उच्च स्रोतका अनुसार, प्रदेश नं २।का राजेश अहिराज, गण्डकी प्रदेशका सीताकुमारी पौडेल र लुम्बिनी प्रदेशका धर्मनाथप्रसाद यादवलाई पदमुक्त गर्न लागिएको हो ।
यसअघिको केपी ओली नेतृत्वको सरकारले केही महिनाअघि मात्रै उनीहरुलाई नियुक्त गरेको थियो । यी तीनवटै प्रदेशमा नेकपा माओवादी केन्द्र निकट प्रदेश प्रमुखहरु थिए ।
आज हटाइएका ठाउँमा गठबन्धन सरकारले सबैलाई मिलाएर ल्याउने भएको छ । जस अनुसार , प्रदेश २ मा जनता समाजवादी पार्टीको सिफारिशमा नियुक्त गरिने छ ।
यस्तै , गण्डकी प्रदेशमा कांग्रेसले सिफारिश गर्ने सहमति जुटेको छ भने लुम्बिनी प्रदेश प्रमुखमा माओवादी केन्द्रको सिफारिश कार्यान्वयन गरिने छ ।
कुन प्रदेशमा को को नियुक्त हुने भन्ने तय गर्न कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको सरकारी कार्यदलले सिफारिश गर्ने बुझिएको छ ।