एजेन्सी
भारतमा एक किशोरीलाई जीन्स लगाएको निहुँमा कुटेर हत्या गरिएको छ ।गत साता भारतको उत्तर प्रदेशको देवरिया जिल्लास्थित सवरेजी खर्ग गाउँमा १७ वर्षीया नेहा पासवानलाई उनका नजिकका आफन्तहरूले कुटेर हत्या गरेको जनाइएको छ। किशोरीसँग उनको पहिरनबारे विवाद भएपछि उनका हजुरबा-हजुरआमा र काका-काकीहरूले लट्ठीले कुटेको उनकी आमा शकुन्तलादेवी पासवानले बीबीसी हिन्दीलाई बताएकी छन् ।

दिनभरि व्रत बसेकी नेहाले साँझमा जीन्स र टप लगाएर पूजा गरेकी बताइएको छ। उनका हजुरबा-हजुरआमाले त्यो पहिरनबारे आपत्ति जनाएका थिए । शकुन्तलादेवीका अनुसार नेहा अचेत भएपछि उनका आफन्तले एउटा ट्याम्पो बोलाएर त्यसैमा अस्पताल लगेको बताए। उनीहरूले शकुन्तलादेवीलाई संगै जान नदिएपछि उनले आफ्नो आफन्तलाई त्यसबारे जानकारी गराएको र जिल्ला अस्पतालमा जाँदा त्यहाँ उनीहरूले नेहालाई नभेटेको जनाएका छन् ।
भोलिपल्ट शकुन्तलादेवीले गण्डक नदीमा बनेको पुलमा एउटी किशोरीको शव झुन्डिरहेको अवस्थामा देखिएको खबर पाएकी र त्यहाँ पुगेर हेर्दा त्यो शव नेहाकै भएको बताइन्।

प्रहरीले नेहाका हजुरबा-हजुरआमा, काका-काकी, काका-काकीका छोराछोरी र अटो ड्राइभरसहित १० जनाविरुद्ध हत्या र प्रमाण मेटाउन खोजेको आरोपमा जाहेरी दर्ता गरेको बीबीसीमा उल्लेख छ। आरोपितले हालसम्म सार्वजनिक बयान नदिएको बताइएको छ । त्यहाँका वरिष्ठ प्रहरी अधिकृत श्रीयश त्रिपाठीले बीबीसी हिन्दीसँग कुरा गर्दै हजुरबा-हजुआमा, एकजना काका र अटो ड्राइभरसहित हालसम्म चार जना पक्राउ परेको बताए ।प्रहरीले बाँकी आरोपितको पनि खोजतलास गरिरहेको बताए। पञ्जावको सहर लुधिआनामा निर्माण मजदुरको काम गर्ने नेहाका पिता अमरनाथ पासवान पनि उक्त घटनापछि घर फर्किएका छन्।