बुटवल-११ ।
बुटवलको चौराहा–गोलपार्क खण्डमा खाल्डाखुल्डी, धुलो र हिलोका कारण हिंडडुलमा समेत समस्या उत्पन्न भएको भन्दै खाल्डाखुल्डी तत्काल पुरेर हिंड्नयोग्य बनाउन माग गर्दै युवा संघ नेपाल रुपन्देहीले मंगलबार जिल्ला प्रशासन कार्यालय रुपन्देही, व्यापारिक मार्ग परियोजना कार्यालय र निर्माण कम्पनीको सम्पर्क कार्यालयमा पुगेर ध्यानाकर्षण गराएको हो ।
युवा संघ रुपन्देहीका अध्यक्ष मनोज गौचनको नेतृत्वमा युवा संघका केन्द्रीय सदस्यहरु, जिल्ला सदस्य तथा सल्लाहकार, खेलकुद महासंघका सचिवालयस सदस्य सहित अगुवा युवाहरुको टोली ती कार्यालयमा पुगेको थियो ।
प्रमुख जिल्ला अधिकारी अस्मान तामाङलाई ध्यानाकर्षण पत्र बुझाउँदै युवा संघले निर्माणकम्पनीको लापरबाही र ढिलासुस्तीबाट आमसर्वसाधारणमा सास्ती पुगेको भन्दै ठेकेदार उपर तत्काल कानुनी कारबाही अगाडि बढाउन माग गरेको छ ।
यस्तै व्यापारिक मार्ग परियोजना कार्यालयमा ध्यानाकर्षण पत्र बुझाउँदै तत्काल मर्मत सम्भारका काम अगाडि बढाउन र लामो समयदेखि रोकिएको विस्तारको कामलाई पनि तत्कालै अगाडि बढाउन प्रभावकारी निर्देशन दिन माग गरिएको अध्यक्ष गौचनले जानकारी दिए ।
त्यसैगरि निर्माण कम्पनीको पड्सरी स्थित सम्पर्क कार्यालयमा पुगेर युवा संघले तत्काल मर्मत सम्भार विस्तारका कामलाई अगाडि बढाउन ध्यानाकर्षण गराइएको छ । ध्यानाकर्षण अनुसार काम तत्कालै नबढाए ठेकेदारलाई आफुहरुले नै समातेर कानुनी कारबाहीका लागि प्रशासनमा बुझाउने संघले चेतावनी समेत दिएको छ ।
उक्त सडक खण्डको ठेक्का ‘द कंचनजंघा विरुवा जेभी काठमाडौं’ले पाएको थियो । पटक पटक म्याद थप्दासमेत उक्त कम्पनीले काम अगाडि नबढाए पछि स्थानीय प्रशासनले अघिल्लो महिनामा मात्र ठेकेदार कम्पनीका अधिकारीलाई नियन्त्रणमा लिई प्रहरीको निगरानीमा काम अगाडि बढाउने कागज गराएको थियो । ठेकेदार कम्पनीको चिन्ह अङ्कित टिसर्ट लगाएर खाल्डा पुर्ने काम तुरुन्त शुरु गर्ने र वर्षा रोकिएसँगै सडक विस्तारको काम अगाडि बढाउने गरि जिल्ला प्रशासन कार्यालयमा लिखित सहमती भएको थियो ।
प्रशासनले कानुनी कारवाही अगाडि बढाएपछि युवा संघ नेपालले थप कारवाहीको माग गर्दै सरकारी कार्यालय पुगेर ध्यानाकर्षण गराएको छ । । संघको ध्यानाकर्षण पत्रमा सडक निर्माणको काममा निर्माण व्यवसायीको भूमिका बदनियतपूर्ण भएको, सडक निर्माणको काम समयमा नहुँदा सम्रग बुटवललाई नै कुरुप बनाएको भन्दै सडकको निर्माण कार्यमा निर्माण व्यवसायीले गरेको अटेरीपना र ढिलासुस्तीलाई युवा संघ सहेर नबस्ने चेतावनी दिईएको छ ।
सडक विस्तारको काम यथासिघ्र शुरु गर्न र काम नगर्ने ठेकेदार कम्पनीलाई कारवाही गर्न माग गर्दै आजै रुपन्देही ब्यापार संघले पनि प्रेस विज्ञप्ति प्रकाशित गर्दै सरोकारवालाकोे ध्यानाकर्षण गराएको थियो । संघका अध्यक्ष यमलाल लोहनी र महासचिव दयानिधि भण्डारीले सोमवार संयुक्त प्रेस विज्ञाप्ति जारी गर्दै आर्थिक वर्ष २०६८/०६९ बाट निर्माण थालिएको व्यापारिक सडक अन्तरगतको बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्मको ३.५ किलोमिटर क्षेत्रमा सडक विभागले निजी घरहरु भत्काएको लामो समय वितिसक्दा पनि सडकको काम नथाल्दा व्यापार व्यवसायमा ठूलो प्रभाव परेको जनाएको छ ।
बुटवल बजार क्षेत्रको सडकको मुद्दा अदालतमा पुगेकोले समयमा सडक निर्माणको काम अगाडी नबढेको बताउदै आएको सडक कार्यालयले अदालतको फैसलापछि घरहरु भत्काउने काम गरेको बताउदै सडक निमार्णको काम अगाडी नबढाएकोप्रति संघले चिन्ता ब्यक्त गरेको छ ।