सत्ताको उन्माद पनि अचम्मको हुँदो रहेछ । कम्युनिष्टहरु बलिष्ट बनेपछी बनेको बहुमतको सत्ता साझेदार गर्न नसक्दा पूरै पार्टी फुटाएर एक्लाएक्लै सत्तामा पुग्ने सपना देखेका कम्युनिष्टहरु सर्वाेच्चको निर्णयसँगै एमाले र माओवादी केन्द्र भए । उतिबेला एमालेको रवाफ अलि बेग्लै थियो, किनकी सत्तामा थिए केपी ओली, केही माओवादी केन्द्रका मझधारका नेताहरु ओलीको निकट देखिए, मन्त्री पड्काए । जब पार्टी परित्याग गरेको घोषणा गर्दै मन्त्री बने, त्यसपछि केही समय आखाँ नदेखेकाहरुलाई एकाएक संसदबाट पदच्युत भएपछि ब्युझे । ब्युझेपनि साना कुरा गरेनन, किनकी प्रधानमन्त्री तिनै ओली थिए । अब ओली चिप्लीएपछि चिल्लै भएका माओवादीका पूर्वनेताहरु आफूहरु एमालेमा प्रवेश नगरेको भन्दै मुकुण्डो देखाईरहेका छन् । नेकपा माओवादी केन्द्रका पूर्वनेता टोपबहादुर रायमाझीले आफू नेकपा एमालेमा प्रवेश नगरेको दाबी गरेका छन् । बुधबार सर्वोच्च अदालतमा सांसद पद कायम राखिदिन भन्दै दायर गरेको रिटमा रायमाझीले आफू एमालेमा प्रवेश नगरेको दाबी गरेका हुन् ।
नेकपा माओवादी केन्द्र छाडी नेकपा एमालेको केपी ओली नेतृत्वमा जाने निर्णय गरेपछि माओवादी केन्द्रले रायमाझीलाई कारबाही गरेको थियो । सांसद पद र पार्टीको सदस्यबाटै निष्कासित गरेपछि सो को जानकारी संसद् सचिवालयलाई दिइएको थियो । माओवादी केन्द्रबाट निर्वाचित सांसद पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेपछि संसद् सचिवालयले रायमाझीलाई गएको चैत २६ गते सांसद पदबाटसमेत हटाएको थियो ।

सांसद पदबाट हटाएको करिब ४ महिनापछि गुहार माग्दै सर्वोच्च पुगेका रायमाझीले आफू नेकपा एमालेमा प्रवेश नगरेको दाबी गरेका हुन् । उनले दायर गरेको रिटको मुद्दाको संक्षिप्त खण्डको ख मा केपी ओलीले नेतृत्व गरेको नेकपा एमालेमा आजसम्म औपचारिक रूपमा प्रवेश नगरेको र पार्टीको सदस्यता नलिएको बताएका छन् । हालसम्म पनि आफू माओवादी केन्द्रकै नेता रहेको रायमाझीको दाबी छ ।

​त्यसैगरी रायमाझीको दाबीमा माओवादी केन्द्रको महाधिवेशन पनि नभएको, पार्टीको आधिकारिकता नभएको, सोही पार्टीले आफूलाई स्पष्टीकरणसम्म नसोधी कारबाही गरेको कुरा मान्य हुन नसक्ने भन्दै उक्त कारबाही अवैध भएकाले सांसद पदबाट हटाउने निर्णय बदर गर्न माग गरेका छन् ।
स्मरणीय छ, नेपाल कम्युनिस्ट पार्टी नेकपा टुक्राउने अदालतको निर्णयपछि माओवादी केन्द्रका नेताहरू रामबहादुर थापा, लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह, मणि थापा लगायतका नेताहरूले आफूहरू ओली नेतृत्वको नेकपामा गएको घोषणा गरेका थिए । ती नेताहरूले माओवादी केन्द्र र त्यसका अध्यक्ष पुष्पकमल दाहालविरुद्ध अभिव्यक्तिसमेत दिएका थिए ।