बुटवल । लुम्बिनी प्रदेशका विपक्षी गठबन्धनले नयाँ सरकार निर्माणका लागि लागि परेका छन् । एक पछि अर्को गरी लुम्बिनी प्रदेश सरकारलाई कमजोर बनाउने निर्णयहरु भइरहँदा लुम्बिनीका बिपक्षी गठबन्धनले सक्रियता बढाउँदै आएका छन्। प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसका संसदीय दलका नेता बिरेन्द्रकुमार कनौडियाले सरकार अल्पमतमा रहेकोले अब केही समयमा नै नयाँ सरकार निर्माण प्रक्रियामा लाग्ने बताए । उनले पछिल्लो समय केही सक्रियता बढेको बताउँदै अब छिट्टै केही नयाँ निर्णय हुने तर्क गरे ।
यता माओबादी संसदीय दलका प्रमुख सचेतक तुलाराम घर्ती ९बसन्त०ले लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि नयाँ रणनीति बनाएको बताए । उनले केही समय पहिला लुम्बिनी प्रदेशसभा सचिवालयमा दर्ता गराएको अविश्वासको प्रस्तावलाई टेबुल गर्नको लागि विशेष अधिवेशन आव्हन गर्न आग्रह गरिने जनाए ।
उनले भने – ‘ नयाँ आउनुहुने प्रदेश प्रमुख ज्यू समक्ष २५ प्रतिशत सांसदको हस्ताक्षर सहित विशेष अधिवेशन आव्हन गर्नको लागि जानेछौँ हाम्रो मुख्य एजेण्डा अविश्वासको प्रस्ताव हुनेछ ।’ आफूहरुले पटक पटक विश्वासको मत लिन आग्रह गर्दागर्दै पनि मुख्यमन्त्री संसदबाट भाग्दै चोरबाटोमार्फत नियुक्त भएको बताउँदै उनले अब सबैभन्दा पहिलो एजेण्डा नै अविश्वास प्रस्ताव नै हुने र यसको लागि आवश्यक गृहकार्य हुने बताए ।
उनले अहिलेको सरकार अवैध रहेको बताउँदै कानूनी रुपमा संविधानको धारा १६८ को उपधारा २ बमोजिम रहेपनि १ बमोजिम नियुक्ति लिएको बताउँदै सरकारलाई यति लामो समय दिएपनि नगरेकोले यो विकल्प तयार गरेको बताए । उनले अब माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीको नेतृत्वमा सरकार बन्ने दाबी समेत उनले गरे ।
नयाँ प्रदेशप्रमुख आउने भएसँगै लुम्बिनीका विपक्षि गठबन्धन हौसिएका छन् । यता जसपा बिबाद पनि प्रदेशमा कायमै रहेको छ । जसपाका ६ सांसद मध्य ३ जना महन्थ ठाकुर पक्षधर छन् भने ३ जना उपेन्द्र यादव पक्षका रहेका छन् । महन्थ पक्षका ३ जना सरकारमा रहेपनि उनीहरुलाई कारवाही गर्ने पार्टीले निर्णय गरिसकेको छ ।
कारवाहीको पत्र लुम्बिनी प्रदेशसभामा आइसकेको भने छैन । सर्वोच्च अदालतले अन्तरिम आदेश दिँदै संसद थमौती गरिदिएपनि अब के गर्ने भन्ने विषयमा निर्णय भइनसकेको प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले बताए ।