काठमाडौं ।
प्रधानमन्त्री शेरबहादुर देउवालाई चिनियाँ समकक्षीले बधाई सन्देश पठाएका छन् ।

प्रधानमन्त्रीमा नियुक्त भएको १५ दिनपछि चिनियाँ समकक्षी लि खछ्याङले देउवालाई बधाई सन्देश पठाएका हुन् ।

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले ली खछ्याङले देउवालाई बधाई सन्देश पठाएको जानकारी गराएकी छिन् ।

बधाई सन्देशमा प्रधानमन्त्री ली ले नेपाली समकक्षीसँग मिलेर दुई देशबीचको रणनीतिक साझेदारीलाई नयाँ उचाईमा पुर्याउन चाहेको बताएका छन् ।

प्रधानमन्त्री खछ्याङले कोरोना महामारीको चुनौतिहरू पार गर्न, उच्चगुणस्तरीय बीआरआई परियोजना प्रवर्द्धन गर्न, पारस्परिक लाभदायक सहयोग विस्तार गर्न र दुई देशको रणनीतिक साझेदारीलाई निरन्तरता दिनको लागि मिलेर काम गर्ने अपेक्षा गरेकाे चिनियाँ समातरचार संस्था सिन्ह्वाले जनाएको छ ।
नेपाल र चीनबीच उच्चस्तरको मैत्रिपूर्ण सम्बन्ध रहँदै आएको छ । नेपालाई सहायता गर्ने मुलुकमा चीन सबैभन्दा अगाडि छ । कोरोना भाइरसको महामारी विरुद्धको लडाईंमा सघाउन चीनले नेपाललाई ३४ लाख डोज कोरोना खोप उपलब्ध गराएको छ । यसमध्ये १८ लाख डोज खोप नेपाल आइसकेको छ । चीनले यसबाहेक कैयौं स्वास्थ्य सामाग्री र उपकरणहरु समेत सहायता गरेको छ ।