काठमाडौं-१६
नेकपा एमालेका अध्यक्ष केपी ओलीले वरिष्ठ नेता माधवकुमार नेपालका लागि पार्टीमा ठाउँ नभएको बताएका छन् ।
एमाले काठमाडौं जिल्ला कमिटीको आज आयोजित बैठकमा बोल्दै उनले वामपन्थीको सरकार ढाल्न अग्रसर भएको आरोप लगाउँदै नेता नेपालका लागि पार्टीमा कुनै ठाउँ नभएको स्पष्ट पारेका हुन । अध्यक्ष ओलीले नेपालले आफ्नै पार्टीको वामपन्थीको सरकार ढालेर दक्षिणपन्थीको सरकार बनाउन विश्वासको मत दिएको आरोप लगाए ।
उनले भने ‘माधव नेपालजस्ताका लागि पार्टीमा कुनै ठाउँ छैन, वामपन्थी सरकार ढाल्ने दक्षिणपन्थी सरकार बनाउने, विश्वासको मत दिने’ उनले भने ‘आफ्नो पार्टीका प्रधानमन्त्रीले विश्वासको मत माग्दा नदिने ? त्यस्ताका लागि ठाउँ छैन ।’
ओलीले नेपाल बाहेक अरु नेताहरु पार्टीमा फर्किए मौका दिइने बताए । ‘आउनुस् यो पार्टी हामी सबै जनाको हो । जो आउँदैन, आउँदैन । समय कुर्दैन’ ओलीले भने ।
अब पार्टीमा खुट्टा तान्ने कोही नभएको र आगामी चुनावमा एमालेले बहुमत ल्याउने दाबी उनको थियो।