बुटवल । नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति रुपन्देहीको आयोजनामा भारतीय एसएसबिद्वारा दार्चुलामा भएको जयसिंह धामीको हत्याको विरोधमा बुटवलमा प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रममा नेकपा रुपन्देही जिल्ला सेक्रेटरी जयसिंहको हत्या प्रकरणबारे सत्यतथ्य सार्वजनिक गर्न र पीडित परिवारलाई उचित प्रकारको राहत प्रदान गर्न माग गरे । उनले जयसिंहको हत्या निर्मम तरिकाले भएको भन्दै यस्तो अमानवीय र अपराधिक कार्य खेदजनक भएको बताए । उनले विदेशी साम्राज्यवादी हस्तक्षेपको अन्त्यका लागि नेपालका दलाल संसदीय व्यवस्थाका मतियारहरूलाई निमित्यान्न पारि वैज्ञानिक समाजवादी राज्य सत्ताको स्थापना अपरिहार्य भएको बताए । उनले जयसिंह धामी अर्थात् एउटा नेपाली नागरिकको हत्या हुँदा पनि राज्य मौन रहेको भन्दै आक्रोश व्यक्त गरे । उनले देशको हित विपरीत हुने कुनै पनि राष्ट्रघाती सम्झौता आफूहरूलाई स्वीकार्य नरहेको भन्दै राष्ट्रिय स्वाधीनता र रक्षाका लागि आफ्नो पार्टीले हरेक प्रकारका सङघर्ष र आन्दोलन गरिरहेको बताए । उनले वर्तमान संसद्वादी दलका नेताकार्यकर्ताहरू विदेशीको आडमा लम्पसार परेको बताए । भारतीय साम्राज्यवादी हस्तक्षेपका विरुद्ध देशव्यापी आन्दोलनको आँधीहुरी सिर्जना गर्नुपर्ने बताउँदै विश्वासले दलाल सत्तालाई बदल्नुपर्ने बताए ।कार्यक्रममा भारतीय साम्राज्यवाद मुर्दावाद !, सिमानामा भारतीय ज्यादती बन्द गर !, लिपुलेक कालापानी हाम्रो हो !, नेपाल र नेपाली माथिको हत्या हिंसा बन्द गर ! लगायतका नाराहरू लगाइएको थियो ।कार्यक्रम युवा सङ्गठन नेपालका लुम्बिनी ब्युरो संयोजक विश्लेषणको संचालनमा सम्पन्न भएको थियो ।