कोरोना भाईरसको संक्रमण दिनानुदिन बढ्दै जादाँ यसको नियन्त्रणको तयारीको बारेमा अनेकन चर्चा र परिचर्चा हुने गरेका छन् । विभिन्न जिल्लाहरुमा पुन भएको निषेधाज्ञा र यसको असरले फेरी आम मानिसहरुमा लकडाउन हुने हो कि नभन्ने संसय बढेको देखिन्छ । यता सरकारले कोरोना नियन्त्रण गर्न चुनौतीपूर्ण रहेको भन्दै यसको सामना गर्न राज्यका सवै संयन्त्रबीच सहकार्य र परिचालनका साथै नागरिक तहको समेत सहभागिता अनिवार्य भएको निश्कर्ष निकालेको छ ।
आइतबार बिहान सिंहदरबारस्थित गृह मन्त्रालयमा गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा बसेको कोभिड –१९ सम्बन्धी बैठकले यस्तो निश्कर्ष निकालेको हो । बैठकमा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ, गृह सचिव महेश्वर न्यौपाने ,प्रहरी महानिरीक्षक शैलेस थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल ,राष्ट्रिय अनुसन्धान बिभागका प्रमुख गणेशप्रसाद अधिकारी लगायत सरोकारवालाको उपस्थिति रहेको थियो ।
बैठकमा गृहमन्त्री खाणले कोरोना नियन्त्रण राज्यको मूल दायित्व भएको भन्दै राज्यका सबै संयन्त्रहरु सक्रिय हुन जरुरी रहेको बताएका थिए । ‘कोरोना नियन्त्रण सरकारको पहिलो प्राथमिकता हो, यसलाई प्रभावकारी बनाउन जरुरी छ’, बैठकमा मन्त्री खाणको भनाइ थियो ।
त्यस्तै उनले कोरोना नियन्त्रणमा स्वास्थ्य मन्त्रालयले गृहमन्त्रालयसँग समन्वय गर्नुपर्ने आवश्यकता रहेको समेत औंल्याएका थिए । ‘कोरोना नियन्त्रण चुनौतिपूर्ण छ, त्यसका लागि सबैको सहकार्य र समन्वय आवश्यक रहेको छ’, खाणले बैठकमा भनेका थिए ।

त्यसक्रममा उनले गृह मन्त्रालयले कोरोना नियन्त्रणमा आवश्यक व्यवस्थापनको पाटोमा सहजीकरण गर्नेसमेत बताएका थिए । ‘हामी अहिलेदेखि नै तेस्रो वेभ आउनुअघि नै तयारी अवस्थामा रहनुपर्दछ । होल्डिङ सेन्टर निर्माण सन्तोषजनक छैन । यसलाई तीब्रता दिनु जरुरी छ’ बैठकमा गृहमन्त्री खाँणको भनाई उधृत गर्दै स्रोतले भन्यो, ‘बोर्डरमा कोरोना खोप लगाउने व्यवस्था मिलाउन म स्वास्थ्यराज्यमन्त्रीलाई आग्रह गर्दछु ।’
त्यस्तै तेस्रो वेभको सामना गर्न अहिलेदेखि नै सबै सरकारी अस्पतालमा अक्सिजन व्यवस्थापन अपरिहार्य रहेकोबारे पनि छलफल भएको थियो । त्यसका लागि लिक्वीड ट्याङ्क उपयोगी हुनेबारे चर्चा भएको थियो । साथै, सरकारले सर्वसाधारणलाई मास्क लगाउन अभिप्रेरित गर्ने, यसका लागि विभिन्न संघसंस्था, शैक्षिक संस्थासँग सहकार्य गर्नुपर्ने समेत निश्कर्ष निकालेको छ ।
त्यस क्रमामा स्वास्थ्यराज्यमन्त्री उमेश श्रेष्ठले गृह प्रशासनको सहयोगको अपेक्षा गरेका थिए । ‘कोरोना नियन्त्रण गर्न हामीले सरकारी अस्पतालमा अक्सिजन प्लान्ट निर्माणदेखि, सीमा नाकामा भ्याक्सिन लगाउने,कोरोनाखोप लगाउने कार्यलाई व्यवस्थित गर्न टोकन व्यवस्थापन गर्ने, खोप केन्द्र बढाउनेजस्ता काम तत्काल गर्नुपर्ने हुन्छ’, राज्यमन्त्री श्रेष्ठको भनाइ थियो ।
छलफलमा राज्यमन्त्री श्रेष्ठले ४० लाख फाइजर खोप किन्नलाई आवश्यक प्रवन्ध मिलाइएको बताएका थिए । साथै आगामी एक हप्तामा ३२ लाख खोप ९१६ लाख चिनियाँ र १६ लाख जापानबाट आउने जानकारी गराएका थिए ।
साथै उनले आफूले कोरोना नियन्त्रणका लागि सय दिने योजना बनाउने र सोहीअनुसार अघि बढ्न लागेको जनाएका थिए । त्यसका लागि नीजि मेडिकल कलेज र अस्पतालहरुसँग समन्वय गर्ने प्रयास भइरहेको मन्त्री श्रेष्ठको भनाइ थियो ।