काठमाडाैं-१८
सरकारले कोरोना संक्रमण बढेसँगै निषेधाज्ञा जारी गरेपछि बन्द रहेको सवारी चालक अनुमति पत्र (लाइसेन्स)को ट्रायल खुलाउने तयारी गरेको छ ।

यातायात व्यवस्था विभागले साउन अन्तिम सातादेखि लाइसेन्सको ट्रायल परीक्षा खुलाउने तयारी गरेको हो । विभागले आगामी आइतबार मातहतका कार्यालयसँग छलफल गरेर ट्रायल परीक्षा खुलाउन लागेको हो ।

विभागले यसअघि नै लाइसेन्सको ट्रायल खुलाउने तयारी गरेकोमा कोरोना संक्रमण रोकथामका लागि जारी निषेधाज्ञा पूर्णरूपमा नहटेको भन्दै यातायात कार्यालयले ट्रायल खुलाउन नसकिने बताएका थिए ।

पछिल्लोपटक विद्यालय, विश्वविद्यालयलगायतको परीक्षा धमाधम सुरु भएपछि विभागले पनि ट्रायल खुलाउने तयारी गरेको हो । विभिन्न खाले सवारी साधान चलाउनका लागि अनलाइन आवेदन दिएर लाखौं सेवाग्राही ट्रायल परीक्षाको प्रतीक्षामा बसेका छन् ।

अनलाइन प्रणालीमार्फत ट्रायल परीक्षाका लागि आवेदन दिनेहरूले पालो कुर्दाकुर्दै कोरोनाको दोस्रो भेरियन्टको संक्रमण बढेपछि पुनः ट्रायल परीक्षा बन्द गरिएको थियो ।

विभागले पछिल्लोपटक अनलाइन आवेदन पनि बन्द गरेको छ । विभागका अनुसार ट्रायल खुल्ने टुंगो लागेपछि पुनः अनलाइन आवेदन खुलाउने तयारी गरिएको छ ।

यसअघि, विभागले कोटा प्रणाली गरेकोमा अब कोटा प्रणाली तोक्ने कि नतोक्ने भन्ने विषयको टुंगो लाग्न बाँकी छ । यसअघि कार्यालयलाई विभागले कोटा तोकिदिने गरे पनि अब भने कोटा नतोक्ने र कार्यालयले जति सक्छन् सोहीअनुसार गराउने तयारीमा विभाग छ । तर, २४ गतेको छलफलपछि कार्यालयको सुझावका आधारमा यसको अन्तिम टुंगो लगाइने भएको छ ।

विभागले ट्रायल परीक्षा खुलाएसँगै नयाँ व्यवस्था लागू गर्ने तयारी समेत गरेको छ । हाल विद्यमान लाइसेन्स परीक्षा प्रणालीमा शतप्रतिशत अंक ल्याए मात्रै पास हुने व्यवस्था रहेकोमा त्यसलाई केही सहज हुने गरी व्यवस्था गरिएको छ । सुधारिएको प्रणालीअन्तर्गत अब ७० प्रतिशत अंक ल्याए पास हुने व्यवस्था छ ।

नयाँ व्यवस्थाअनुसार ट्रायल परीक्षामा विभिन्न पक्षलाई आधार मानेर अंक दिइने व्यवस्था छ । जसमा ट्राफिक लाइट, उकालो–ओरालो, स्पिड ब्रेकर, पार्किङलगायतलाई आधार मानेर अलग–अलग नम्बर दिइनेछ । त्यसका आधारमा जम्मा ७० अंक ल्याउनेले ट्रायल पास गर्नेछन् ।

सरकारले गत वर्ष कोरोना नियन्त्रणका लागि लकडाउन गरेसँगै सवारी साधनको चालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षा बन्द गरेर पुस २०७७ मा नौं महिनापछि खुलाएको थियो ।

कोरोना संक्रमण वृद्धि भएपछि सरकारले पुनः वैशाख दोस्रो सातादेखि लाइसेन्सका लागि लिने परीक्षा स्थगित गरेको थियो । बाग्मती प्रदेशअन्तर्गतको यातायात व्यवस्था कार्यालयले एक सूचना प्रकाशित गरेर अर्को सूचना जारी नहुँदासम्मका लागि परीक्षा स्थगित गरिएको जनाएका थिए ।