बुटवल-२०
लुम्बिनीमा लामो समयदेखि सत्ता पक्ष र विपक्षी गठबन्धन बीच टकराव हुँदै आएको छ । एक अर्कालाई अवैधानिक भन्दै आरोप/प्रत्यारोप गर्दै आएका सत्ता पक्ष र विपक्षी गठबन्धन बीच वारपारको लागि प्रतिष्पर्धा जारी छ ।
विपक्षीले मुख्यमन्त्री शंकर पोखरेल अल्पमतमा भएर पनि नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त नगरेको भन्दै प्रदेश सरकारको चर्को आलोचना गर्दै आएका छन् ।
सत्ता पक्षले भने आफू बहुमतमा नै भएको दाबी गर्दै विपक्षीले अनावश्यक रुपमा आलोचना गरेको बताउँदै आएको छ् । तर, मंगबार लुम्बिनी प्रदेशका सत्ता पक्ष र प्रतिपक्ष गठबन्धन एउटै कार्यक्रममा आमने–सामने भएका छन् । नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले आफूहरुसँग स्पष्ट बहुमत भएको बताएका छन् । उनले मंगलबार विपक्षी गठबन्धनले दर्ता गरेको अविश्वासको प्रस्ताव असंवैधानिक भएको बताउँदै अविश्वासको प्रस्तावको डटेर सामना गर्ने बताए ।
बुधबार रिपोर्टर्स क्लब लुम्बिनी प्रदेशले बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै ढकालले आफूहरुलाई सत्तामा बसिरहन मन नभएको बताए । उनले सत्तापक्ष सहमतिमा जान खोजेको बताउँदै प्रदेश सभा भित्र राजनीतिक जटिलताको अन्त्य गरेर विपक्षी गठबन्धनलाई सहमती प्रक्रियामा जान आग्रह गरे । मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश सभामार्फत राजनीतिक समस्या समाधान गरेर मात्रै विश्वासको मत लिने बताउँदै आएको ढकालले बताए ।
ढकालले संविधानको धारा १६८(१)बमोजिमको सरकारमाथि अविश्वासको प्रस्ताव पेश गर्न संवैधानिक नभएको बताए । उनले विपक्षी गठबन्धनले प्रलोभनमा सांसदहरुलाई आफूतिर किनेको आरोप लगाए । उनले अमर डाँगीको उदाहरण दिँदै डेढ करोडको लोभ देखाएर डाँगीको पद खाइदिएको आरोप लगाए ।
ढकालले फरक प्रसङ्गमा बोल्दै ढकालले बिमला खत्री वली उपचारको क्रममा रहेको बताउँदै छिट्टै मिडियामा आउने बताए । वली परिवारको साथमा रहेको बताउँदै विपक्षीले अपहरण गरेको आरोप लगाउनुको औचित्य नरहेको बताए । उनले भने, ‘बिमला वली परिवारसँगै हुनुहुन्छ, उहाँको परिवारले अपहरण भयो खोज्दिनु पर्यो भने कतै भन्नुभएको छैन् विपक्षीलाई के को टाउको दुःखाई हो ।’
वलीले एमालेमै छु भनेर विज्ञप्ती निकालिसकेपछि पनि विपक्षी उनको हस्ताक्षर किर्ते गरेर बुझाएको आरोप लगाए । उनले विपक्षी गठबन्धनले नक्कली नाम राखेर ४२ सांसद पुर्याएको आरोप पनि लगाए । यस्तै, नेपाली कांग्रेस संसदीय दलका नेता फकरुद्धिन खाँले वर्तमान प्रदेश सरकार अल्पमतमा रहेको बताउँदै अब छिटै छिनो–फानो गर्ने बताए ।
खाँले प्रदेश सरकार गठन भएको ३ वर्षसम्म आफूहरु चुप भएर बसेको बताउँदै सरकारले असंविधानिका कार्यहरु गर्न थाले पछि आफूहरु एकजुट भएर अगाडि बढेको बताए । उनले अल्पमलमा हुँदा बारम्बार विश्वासको मत लिनुपर्नेमा बारम्बार संसदबाट भागेको आरोप समेत लगाए । आफूहरुले विश्वासको मत लिन आग्रह गर्दागर्दै पनि सुनूवाई नभएपछि आफूहरुले निकास खोजेको बताए ।
राष्ट्रिय जनमोर्चा संसदीय दलकि सचेत तारा जि.सीले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव पेश भइसकेपछि पनि प्रक्रियामा जान नखोजेको आरोप लगाईन् । उनले सत्ता पक्षले बारम्बार लोकतन्त्र माथि हस्तक्षेप गरेको आरोप लगाइन् ।
यस्तै, जनता समाजवादी पार्टी संसदीय दलका सचेतक सहसराम यादवले पनि मुख्यमन्त्री पोखरेल बारम्बार विश्वासको मत लिनबाट डराएको बताए । उनले सत्तापक्षले बारम्बार जसपा पार्टी माथि हमला गर्न खोजेको आरोप लगाए । उनले जसपाका सांसदहरुलाई प्रभोलनमा देखाएर आफूतिर तानेको आरोप लगाए । साक्षात्कार कार्यक्रमको सहजीकरण रिपोर्टर्स् क्लबल नेपाल,लुम्बिनीका प्रमुख रामकुमार कार्कीले गरेका थिए ।