दाङ-२५
दाङमा खोलाले बगाउँदा आमा छोरोको मृत्यु भएको छ । सोमबार दिउँसो ग्वारखोलाले बगाउँदा तुलसीपुर उपमहानगरपालिका ४ सिम्लेनीका ३६ वर्षीया अमृता घर्ती र उनको २ वर्षीय छोरा रुद्र घर्ती रहेको
जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। तुलसीपुर १९ पतेनीमा माइत जाने क्रममा दिउँसो करिब २ बजेतिर ग्वारखोलाले बगाउँदा आमाछोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं
डीएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिए । शव पोस्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पतालमा राखिएको छ ।
त्यस्तै तुलसीपुरको पातुखोलामा एक पुरुष मृत फेला परेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार तुलसीपुर ८ टिकरीका ४५ वर्षीय चुलुवा चौधरी पातुखोलामा मृत फेला परेका हुन् ।
चौधरी गएराती पातुखोलामा नुहाउन गएका थिए । नुहाउन गएको ठाउँभन्दा करिब १ सय ५० मिटर दक्षिण तर्फ उनको शव राती नै फेला परेको थियो ।
नुहाउने क्रममा पातुखोलामा आएको बाढीले बगाएको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी श्यामु अर्यालले जानकारी दिए ।
मृतक चौधरीको शवलाई पोस्टमार्टम पछि आफन्तीले बुझिलिएको प्रहरीले जनाएको छ ।