बुटवल ।
बिहिबार साँझबाट आएको अबिरल वर्षाका कारण लुम्बिनी प्रदेश अन्तर्गत सिद्धार्थ राजमार्ग सहित ५ स्थानको सडक अवरुद्ध भएको छ । रातभरी परेको वर्षाका कारण प्रदेशको पहाडी क्षेत्रको सडकमा आएको पहिरोले सडक अवरुद्ध भएको हो ।
सिद्धार्थ राजमार्गको बुटवल पाल्पा खण्डको कालिमाटी र गिट्टी खोलामा पहिरो खस्दा बिहान ६ बजेबाट सडक अवरुद्ध रहेको छ भने रुकुमको सिस्नेखोला खण्डको रानीकोट र रुकुम बागलुङ खण्डमा आएको बाढी र त्यसै आसपास खसेको पहिरोले २ स्थानमा सडक अवरुद्ध रहेको छ । त्यसैगरि रोल्पा थवाङ खण्डमा पनि पहिरोका कारण सडक अवरुद्ध भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
पानी पर्ने क्रम नरोकिएको र भिरबाट लेदो सहितको माटो खस्ने क्रम जारी रहेका कारण सडक संचालनमा कठिनाई भएको ट्राफिक प्रहरीले जानकारी दिएको छ ।