बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका स्वच्छ वातावरणले मात्र होइन, चिल्लो र उज्यालो मुख्य सडकले पनि परिचित छ । सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल–भैरहवा ६ लेन सडकमा राखिएका बत्तिले शहरको सुन्दरतालाई थप आकर्षित गर्दछ । नगरपालिकाको मध्यभागमा रहेको राजमार्ग चिल्लो र फराकिलो भएपनि भित्री बस्तीहरुको अवस्थामा भने फरक छ ।
नगरका विभिन्न बस्ती जोड्ने अधिकांश सडक कच्ची नै छन् भने कालो पत्रे भएका सडक पनि जीर्ण अवस्थामा छन् । सडकमा परेका ठूला–ठूला खाल्टोले सवारी दुर्घटनाको जोखिम हुनुका साथै सडकमै पानी जमेपछि पैदलयात्रीलाई समेत सास्ती हुने गरेको छ । सिद्धार्थ राजमार्ग अन्तरगत विभिन्न ठाउँबाट पूर्व तथा पश्चिमका बस्तीहरुमा जोड्ने कालो पत्रे सकडकहरु समेत समयमा मर्मत सम्भार नहुँदा थप जीर्ण बन्दै गएका छन्।
सिद्धार्थ राजमार्ग अन्तरगतको नयाँमलिदेखि पश्चिम तिलोत्तमा–६ को दश नम्बर पुग्ने सडक, योगीकुटीदेखि चपरहट्टीहुँदै दक्षिण–पूर्व लाग्ने सडक, मण्रिामदेखि ४ नम्बर पुग्ने सडक तथा पच्थरडाँडा, भलवारीदेखि पश्चिमतर्फ रहेको अमुवा वेथरी जोड्ने सडकको अवस्था जीर्ण बन्दै गएका छन् । राजमार्ग छेउ–छाउका सडक चिल्ला र फराकिला देखिएपनि भित्रि बस्तीहरुमा रहेका सडक भने वर्षामा हिलाम्य र हिउँदमा धुलाम्य हुने गरेका छन् ।
नगरका सडकहरुमा संघ, प्रदेश र स्थानीय सरकार बीचको तालमेल नमिल्दा पनि समस्या हुने गरेको देखिएको छ ।
मणिग्रामदेखि ४ नम्बर पुग्ने सडक केन्द्रिय बजेटबाट निर्माण भएको हो । उक्त सडक निर्माणका लागि स्थापना भएको ‘लुम्बिनी बुद्ध सर्किट’ निर्माण सम्पन्न भई खारेज भएपछि पुनः मर्मतमा समस्या देएिको छ । तिलोत्तमा नगरपालिका योजना शाखाका इन्जिनियर प्रदिप वनका अनुसार उक्त सडकमा मर्मतका लागि अध्ययन भइरहेको बताए । तिनाउ खोलादेखि रोहिणी नदिसम्म अध्ययन गरिएको र करिब ५ लाख लागत अनुमा नगरिएको उनले जानकारी दिए । ११ किलो मिटर रहेको यो सडकका अधिकांश स्थानमा खाल्डो परेपछि मर्मत गर्नुपर्ने अवस्थामा छ ।