काठमाडौँ-०१
अफगानिस्तानको राजधानी काबुलमा प्रवेश गरेर राष्ट्रपति भवन कब्जामा लिएसँगै विद्रोही समूह तालिबानले विजय भएको दाबी गरेका छन् ।

तालिबानका एक प्रवक्ताले भनेका छन्, ‘अफगानिस्तानमा युद्ध सकिएको छ । हामीले चाहेको कुरा प्राप्त गरेका छौँ, हाम्रो देशको मुक्ति अनि हाम्रा जनताको स्वतन्त्रता ।’
आइतवार अबेर तालिबानहरू राष्ट्रपति भवनभित्र रहेका तस्बिर सार्वजनिक भएका थिए। तालिबानहरूले राजधानी काबुलको ११ जिल्ला केन्द्र कब्जा गरेको दाबी गरेका छन्।

तालिबानले महिनौँदेखि अफगानिस्तानका विभिन्न क्षेत्रमा नियन्त्रण सुरु गरेको थियो। अमेरिकी नेतृत्वको फौजले देश छाडेलगत्तै पछिल्ला दिनहरूमा त्यो गति निकै तीव्र देखिएको थियो ।

साथै राष्ट्रपति असरफ घानीले देश छाडेका छन् । सुरुवाती रिपोर्टसबाट घानी ताजकिस्तान गएको पत्ता लागेको थियो । यद्यपि अलजजिराले भने राष्ट्रपति घानी, उनकी पत्नी, सेना प्रमुख र राष्ट्रिय सुरक्षा सल्लाहकार उज्बेकिस्तानको राजधानी ताशकन्द गएको जनाएको छ । यद्यपि सरकारको तर्फबाट भने यसको पुष्टि हुन बाँकी छ ।

राष्ट्रपति घानीले देश छोडेपछिको पहिलो वक्तव्यमा रक्तपात रोक्नका लागि आफूले देश छाडेको दाबी गरेका छन्। अफगानिस्तानका नागरिकलाई सम्बोधन गर्दै उनले सामाजिक सञ्जाल फेसबुकमा जारी वक्तव्यमा भनेका छन्,
‘मैले आज (आइतबार) निकै कठिन निर्णय लिएँ । मैले तालिबानको सामना गर्ने वा मेरो प्रिय देश छोड्ने विकल्प रोज्नु पर्ने थियो । तालिबान मलाई हटाउन आएका थिए ।
उनीहरु त्यहाँ सबै काबुल र त्यहाँका बासिन्दामाथि आक्रमणका लागि आएका थिए । रगतको खोलो बग्ने अवस्था आउन नदिनका लागि मैले देश छोड्नु उपयुक्त ठानेँ ।’
उपराष्ट्रपति अमिरुल्लाह सालेहले पनि राजधानी काबुल छाडेका छन् ।