बुटवल-१
लुम्बिनी प्रदेशसभामा आजदेखि सुरु नवौं अधिवेशनको पहिलो बैठक ६ मिनेट बसेर स्थगित भएको छ । प्रतिपक्षी दल नेकपा एमालेको अबरोधका बावजुद २ वटा कार्यसूची माथि कारबाही गर्दै आजको बैठक स्थगित भएको हो ।

बैठकको सुरुमै एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले आफ्ना २ सांसदलाई कारबाहीका लागि पठाइएको पत्रमाथि सभामुखले कारबाही
अघि नबढाएसम्म बैठक चल्न नदिने उल्लेख गरेका थिए । विपक्षी दलहरुले विरोध स्वरुप आफ्नो ठाउँबाट उठेर टेबल ठटाउँदै विरोध जनाए
पनि सभामुखले प्रदेशप्रमुखले नवौं अधिवेशनका लागि आह्वान गरेको पत्र पढेर सुनाएका थिए । यसैगरी प्रदेश प्रमुख अमिक शेरचनले नियुक्त गरेका मुख्यमन्त्री कुलप्रसाद केसीको नेतृत्वमा गठित मन्त्रीहरुको नाम पढेर सुनाएका थिए ।

बैठक भोलि दिउसो १ बजे बस्नेगरी स्थागित भएको छ । निर्धारित समयभन्दा बरिब पौने २ घण्टा ढिला गरी सुरु भएको बैठकमा विपक्षी दलले अवरोध जनाएपछि अन्य कार्यसूचिमा प्रवेश नै नगरी स्थागित भएको हो । लुम्बिनी प्रदेशका बिनाविभागिय मन्त्री अजय शाही र सांसद विमला खत्री ओलीलाई पदमुक्त गर्न नेकपा एमालेले प्रदेशसभा सचिवालयमा पत्राचार गरेपनि त्यस विषयमा सभामुखले आवश्यक कारबाही नगरेको भन्दे एमाललेले संसद अवरुद्ध गरेको हो ।

प्रदेशसभामा एमालेका मुख्यसचेत भुमिश्वर ढकालले एमालेको सूर्य चिन्ह लिएर निर्वाचित शाही र विमला ओलीले पार्टीको विधान र संसदीय दलको विधान, नियम र पार्टीको निर्देशनविपरीत गतिविधि गरेको भन्दै पदमुक्त गर्न प्रदेशसभा सचिवालयलाई आज विहान पत्राचार गरेका थिए । सचिवालयले उनीहरुलाई पदमुक्त गर्ने पत्रचारको विषयमा निर्णय गर्न नसक्दा बैठक स्थागित गर्नु परेको हो ।

विगतमा सांसदहरुको राजीनामा तथा कारबाही गर्ने क्रममा सभामुखले देखाएको व्यवहार र आज एमालले सांसदहरुलाई कारबाहीका लागि दिएको पत्रप्रति गर्ने व्यवहार फरक भएपछि अवरोध गर्नु परेको पूर्व मन्त्री तथा एमाले नेता भोजप्रसाद श्रेष्ठले बताए । अजय शाही २०७४ सालमा सम्पन्न प्रदेशसभा सदस्य निर्वाचनमा नवलपरासीको क्षेत्र नं १ ख बाट सूर्य चिन्ह लिएर निर्वाचित भएका थिए । विमला खत्री ओली एमाले नेता उत्तर कुमार ओलीको निधनपछि २०७६ सालमा तत्कालीन नेकपाको तर्फबाट दाङको निर्वाचन क्षेत्र नं ३ ख बाट निर्वाचित भएकी थिइन् ।