विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नवलपुर जिल्ला कमिटिले जिल्लाको देवचुली नगरपालिकामा शुक्रबार राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । देशव्यापी रूपमा संगठन विस्तार, बैठक तथा प्रशिक्षण कार्यक्रमलाई तिव्रता दिएको नेकपाले नवलपुरमा पनि तिव्रता दिएको छ ।
कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला इन्चार्ज कृतिले सबै दलभित्रका नेताहरुले संसदीय व्यवस्था असफल भइसकेको स्विकार गरेको र आफूूहरुले उठाएको वैज्ञानिक समाजवादको मुद्दा स्थापित हुँदै गइरहेको बताए । नेता कृतिले संघर्ष बिना व्यवस्था परिवर्तन नहुने र अबको संघर्ष क्रान्तिकारी तथा देशभक्त शक्तिहरु मिलेर गर्नुपर्ने बताए । उनले अर्को एक प्रसंगमा अमेरिकी सेनालाई नेपाल भित्राई नेपाललाई चिन र अमेरिकाको रणभूमि बनाएर नेपाललाई समाप्त पार्नका लागि एमसीसी परियोजना ल्याइएको बताउँदै आफूहरुले एमसीसी विरुद्धमा सशक्त प्रतिरोध गर्ने चेतावनी दिए ।
नेकपा नवलपुर जिल्ला सेक्रेटरी शितलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि नेकपा केन्द्रीय सदस्य कृति तथा नेकपाका केन्द्रीय सदस्य तथा नवलपुर–नवलपरासी जिल्ला इन्चार्ज ध्रुव, शहिद परिवारका मगंलसेन लगायतको आतिथ्य रहेको थियो ।
उक्त प्रशिक्षण कार्यक्रममा उल्लेखनीय रुपमा जिल्ला स्तरीय नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।